आकाङ्क्षी बढी भए पछि माओवादी केन्द्रलाई प्रदेश नेतृत्व छान्न सकस


मोरङ, २९ मङ्सिर । आकाङ्क्षीको सङ्ख्या बढी भए पछि शनिवार सुरु भएको नेकपा माओवादी केन्द्रको प्रदेश कमिटीले अझैसम्म नेतृत्व चयन गर्न सकिरहेको छैन । सात वटा भूगोल, विशेष र प्रवास गरी विभिन्न ९ मध्ये अहिले सम्ममा भूगोलको एउटा चयन गर्न सफल भए पनि बाँकीमा ८ वटामा भने कमिटी गठन गर्न सकिरहेको छैन । 

शनिवार पार्टी अध्यक्षले भर्चुअल माध्यमबाट एकैसाथ नौ वटै प्रदेशको अधिवेशनको उद्घाटन गरेका थिए । मङ्गलवारसम्म जम्मा एउटा प्रदेशको मात्र नेतृत्व चयन भएको र बाँकी प्रदेशमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने गरी छलफल भइरहेको बताइएको छ । 

माओवादी केन्द्रले अहिलेसम्म गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ (कुसुम) सर्वसम्मत रूपमा चयन गरेको छ । बाँकी प्रदेशमा भने सर्वसम्मत रूपमा नेतृत्व चयनका लागि प्रयास जारी रहेको नेताहरूले बताएका छन् ।अन्य पदमा समस्या नभए पनि अध्यक्षमा भने बढी आकाङ्क्षी देखिए पछि कमिटीको घोषणा गर्न केही ढिला भइरहेको पार्टी श्रोत बताउँछ । 

प्रदेश १ मा सर्वसम्मत नेतृत्व चयनका लागि माओवादी केन्द्रको सम्मेलन नै मङ्गलवार सम्मका लागि स्थगित गरिएको थियो । तर अरुमा सहमति भइसके पनि अहिले समाचार तयार पार्दासम्म पनि पदाधिकारीका भने सहमति भइसकेको छैन । केराकारी गाउँपालिका अध्यक्ष एवम् प्रदेश कमिटी सदस्य राम कार्कीले ‘विमल’ आज (बुधवार) दिउसो ११ बजे सम्ममा पदाधिकारीमा सहमति जुट्ने बताउँछन् ।

उनले ‘अध्यक्षमा तीन जना आकाङ्क्षी देखिनु भएकोले सहमति कायम गर्ने क्रममा केही ढिला भएको हो । तर आज ११ बजे सम्ममा सहमति जुट्ने आसा गरिएको छ ।’

अन्य प्रदेशको उस्तै समस्या देखिएको छ । तर केन्द्रीय नेतृत्व भने जसरी भए पनि सर्वसम्मत रूपमै नेतृत्व छान्ने मनसायमा देखिएकोले सहमतिको लागि केही ढिला भएको बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्