बेहोसीको सुई लगाए इँटा भट्टामा आलमले जिउँदै जलाए


काठमाडौँ , कात्तिक १ / संविधानसभा निर्वाचनको माहौल तातिएको थियो । जनताले मत दिएर संविधान लेख्ने ऐतिहासिक अवसरमा सहभागी हुन उत्सुक २२ वर्षीय त्रिलोकप्रताप सिंह (पिन्टु) पनि भारतबाट फर्किए ।

विहारको सीतामढीस्थित राधाकृष्ण गोयन्का कलेजमा स्नातक तह अध्ययन गर्ने पिन्टु रौतहटको यमुनामाई, सरुहट्ठास्थित घर फर्किनासाथ चुनावी माहौलमा हेलिए ।
भाषणकलामा तेज पिन्टुलाई मोहम्मद अफताव आलमका भाइ महताव आलमले साथमा लिइहाले । अफतावको चुनावी प्रचारका लागि १८ चेतमा उनी घरबाट निस्किए । आलमको चुनाव सफल भयो, उनी सांसद, मन्त्री पनि भए । तर होनहार युवा पिन्टु कहिल्यै घर नफर्किने गरी अस्ताए । २७ चैत, साँझ रौतहटकै फरहदवा गाउँ (हालको राजपुर नगरपालिका २) छाप्रोमा बम बन्दै थियो ।

खासमा विस्फोट गराउने, जनता तर्साउने र बुथ कब्जा गर्ने उद्देश्यले आलमको योजनामा धमाधम बम बनिरहेका थिए । तर बम बनिरहेकै ठाउँमा विस्फोट भयो । बम बनाउन भारतबाट ल्याइएका कैयौँ घाइते भए, कैयौँको मृत्यु भयो । छोरो विस्फोटमा परेको खबर सुनेपछि पिन्टुका बुवा श्रीनारायण सिंह भोलिपल्ट घटनास्थल पुगे । प्रत्यक्षदर्शीले विवरण सुनेपछि वृद्ध बाबु छाँगाबाट खसेझैँ भए ।

बम बनिरहेको ठाउँमा तमासा हेरिरहेका पिन्टु खासमा गम्भीर घाइते भएका थिएनन् भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ । ‘बम विस्फोटपछि उछिट्टिएको छर्रा पिन्टुको तिघ्रामा लागेको थियो । आत्तिएर भाग्दाभाग्दै उसलाई आलमका मान्छेले लखेटी लखेटी समाते । उपचार गर्न भन्दै उसलाई सुई लगाएर बेहोस बनाए । बोरामा कोचे । इँटा भट्टामा लगेर जिउँदै खरानी बनाए,’ ७९ वर्षीय बाबुले भने ।  (थाहा खबर)

प्रतिक्रिया दिनुहोस्