काँग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी


काठमाडौँ, १ पौष । नेपाली काँग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनमा खड्का र गुरुङ विजयी भएका हुन् ।

खड्काले २१२१ मत प्राप्त गरे भने गुरुङले १९०८ मत प्राप्त गरेका छन् । विजयी खड्का नेपाली काँग्रेसको संस्थापन (देउवा) पक्षीय नेता मानिन्छन् भने गुरुङ संस्थापन इतर अर्थात् कोइराला पक्षीय नेता हुन् । गुरुङ देउवा पक्षीय उम्मेदवार विजयकुमार गच्छदार दुई मतले पराजित गर्दै उपसभापतिमा निर्वाचित भएका हुन् ।  

२ जना उपसभापतिका लागि ७ जनाको प्रतिस्पर्धा रहेको थियो । निर्वाचन समितिले उपसभापतिका उमेद्वार गच्छदारले १९०६, चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेको जनाएको छ । 

उता सभापतिमा भने शेरबहादुर देउवा यस अघि नै विजयी भइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्