बेलबारीमा समुदायस्तरीय दुईदिने घुम्ती कृषि तालिम सम्पन्न


बेलबारी, १ पौष । बेलबारी नगरपालिकाले बालिसम्बन्धी ज्ञान दिने उद्देश्यले घुम्ती कृषि तालिमको आयोजना गरेको छ । बेलबारी नगरपालिका वडा नं –२ लालभित्तीमा रहेको प्रगति कृषक समूहको प्राङ्गणमा दुई दिने घुम्ती तालिम सञ्चालन गरेको हो । 

तालिमको समापनमा बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली, २ नं वडा अध्यक्ष घनश्याम गौतम र वडा सदस्य कृष्णबहादुर लिम्बू, नगरपालिकाका कृषि शाखा प्रमुख विनोद दाहाल, त्रिवेणी टोल विकास समितिका अध्यक्ष कुमार सोदेम्बा लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा उपप्रमुख पराजुलीले कृषि प्रणालीलाई जनस्तरबाटै सुधारको आवश्यकता रहेको बताउँदै नगरपालिका कृषिलाई आधुनिकीकरण गर्ने कार्यमा जुटिरहेको बताइन् । 

२ नं वडा अध्यक्ष घनश्याम गौतमले तालिमबाट सिकेका कुरालाई व्यवहारमा परिणत गर्नु पर्नेमा जोड दिए । साथै उनले पछिल्लो समय तालिम तालिमकै लागि मात्र भइरहेको पनि गुनासो गरे ।  

सहभागीहरूले तालिमबाट धेरै कुरा सिक्न पाएको, तालिम प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन् । तर उनीहरूले सिँचाइको समस्याका कारण कृषिबाट राम्रो उत्पादन लिन नसकेकोले बन्द रहेको दाताराम पैनी सञ्चालन गरिदिन नगरपालिकासँग आग्रहसमेत गरेका छन् । 

तालिममा बाली लगाउने तरिका, माटो परीक्षण, जैविक तथा रासायनिक विषादीको प्रयोगका बारेमा सिकाइएको थियो ।तालिमको सहजीकरण नगरपालिकाका कृषि शाखाका कर्मचारी, विनोद दाहाल, विशाल सिटौला र निर्मला कोइरालाले गरेका थिए ।                                    

प्रतिक्रिया दिनुहोस्