मोरङको सुन्दरहरैँचामा रहेको सुकुना माविको स्वर्ण महोत्सवको उद्घाटन


मोरङ, १ पौष । सुन्दरहरैँचा १० मा रहेको सुकुना माविले आज एक कार्यक्रमबिच आफ्नो स्वर्ण महोत्सवको उद्घाटन गरेको छ । स्वर्ण महोत्सवको प्रदेश नं १ मा मुख्यमन्त्री राजेन्द्र राईले आज (बिहिवार) विशेष समारोहकाबिच उद्घाटन गरेका छन् । 

विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम् प्रदेश नं १ का मूख्य मन्त्री राजेन्द्र कुमार राईले सामुदायिक विद्यालयले नै सही अर्थमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए । संस्थागत विद्यालयले जान्नेलाई अझ जान्ने बनाउने तर सामुदायिक विद्यालयले भने नजान्नेलाई जान्ने बनाउने प्रयास गर्ने बताए । सुकुनाको शैक्षिक प्रगति देखेर मक्ख हुँदै उनले विद्यालयको खुलेरै प्रशंसा गरे । 

साथै प्रमुख अतिथि राईले जग्गा दिएर विद्यालयको स्थापना गर्न सहयोग गर्नेप्रति आदर भाव व्यक्त गर्दै भने ‘उहाँहरूको योगदानका कारण आज विद्यालय यो अवस्थामा आएको छ । त्यसैले उहाँहरू आदरको पात्र हुनुभएको छ ।’ साथै प्रमुख मन्त्री राईले सरकारी विद्यालयको शैक्षिक स्तर तल रहेको भन्ने हल्ला गर्ने गरिएको तर समग्रमा हेर्दा त्यसको नभएको । सामुदायिक विद्यालयले नै सही अर्थमा गुणस्तरीय शिक्षा दिइरहेको बताए । 

प्रदेश नं १ का सामाजिक विकास मन्त्री जयराम यादवले प्रदेशभरिकै उत्कृष्ट विद्यालयको रूपमा विकसित भएकोमा सुकुना माविलाई बधाई दिँदै सरकारको तर्फबाट विद्यालयलाई सहयोग रहने प्रतिबद्धतासमेत जाएर गरे । 

आजै विद्यालय प्राङ्गणमा निर्माण भएको फाउन्टेनसहितको स्वर्ण स्मारक, विज्ञानको भवन तथा मूख्य द्वारको पनि उद्घाटन गरिएको छ । साथै सोही अवसरमा सिभिल इन्जिनियरिङका विद्यार्थीले तयार पारेको रकेटको प्रक्षेपणसमेत गरिएको थियो ।

विद्यालयले हरेक दिनलाई विशेष उत्सवकासाथ मनाउने विद्यालयका प्रधानाध्यापक लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिएका छन् । कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउन २ हजार ५ सय १ सदस्यीय मूल समारोह समिति तथा विभिन्न उपसमिति कोसमेत गठन गरिएको विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र प्रसाद गिरीले जानकारी दिए ।

पछिल्लो समय प्रदेश १ कै नमुना विद्यालयको रूपमा स्थापित यस माविमा १ देखि १२ सम्म अङ्ग्रेजी तथा नेपाली दुवै माध्यममा पढाइ हुँदै आएको छ ।

साथै यस विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारमा सिभिल इन्जिनियरिङको पठन पाठन हुँदै आएको छ । १३१ जना शिक्षक र १९ जना कर्मचारी कार्यरत यस विद्यालयमा ४ हजार ५ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्