हरिसिद्धि ब्याडमिन्टन सुरु रदिप र विकासको जोडीको विजयी सुरुवात


काठमाडौँ, २ पौष । हरिसिद्धि ब्याडमिन्टन क्लबको आयोजनामा हरिसिद्धि खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७८ बिहिबारबाट सुरु भएको छ । प्रतियोगिताको सङ्घीय सांसद राजकाजी महर्जनले उद्घाटन गरेका थिए । 

प्रतियोगिताको पहिलो दिन आयोजक क्लबका रदिप महर्जन र विकास महर्जनको जोडीले पुरुष युगल तर्फ विजयी सुरुवात गरेका छन् । महर्जन जोडीले ईरा ब्याडमिन्टन क्लबका अनमोल के.सी. र विपिन श्रेष्ठको जोडीलाई २१–२, २१–६ ले पराजित गर्दै दोस्रो चरण प्रवेश गरेका हुन् । यस्तै बालकुमारी रिमिक्सका दिप्रिस मुनी बज्राचार्य र सुमन शाक्यको  जोडीले पनि जित हात पारे । उक्त जोडीले कास्कीका विशेष बस्नेत र यासिक्सन गुरुङलाई २१–१२, २१–१३ को सहज जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगितामा एपिएफका पेम्बा शेर्पा र चितवनका राजु थापाको जोडीले पनि जित निकाल्दै दोस्रो चरणमा स्थान बनाए । उक्त जोडीले वाईसिबिसीका अशिम गुरुङ र नेल्सन राईको जोडीलाई २१–६, २१–११ ले हराए । 

चारदिन सम्म सञ्चालन हुने प्रतियोगिताको दोस्रो चरण प्रवेश गर्ने क्रममा १६ फिदरका क्षितिज खनाल र अमन महर्जनको जोडीले पनि जित निकाले । उक्त जोडीले बालकुमारी रिमिक्सका दउथ राई र दिपेश शाक्यको जोडीलाई २१–११, २१–११ले पराजित गरे । यस्तै आयोजकका निखिल भट्ट र विवेक चौधरीको जोडीले भानुदय ब्याडमिन्टन क्लबका आशिष् महर्जन र आयुव महर्जनको जोडीलाई २१–१२, २१–७ ले, टिकाभैरवका रामशरण महत र श्याम कृष्ण थापाको जोडीले टिकेश्वर ब्याडमिन्टन क्लबका धक अधिकारी र देवान खालिङ्गको जोडीबाट वाक ओभर, थेचो ब्याडमिन्टन क्लबका ईन्द्र कार्की र कृष्ण कुँवर ठकुरीको जोडीले आयोजकका हरि महर्जन र सन्तोष महर्जनको जोडीलाई २१–१७, २१–८ तथा बालकुमारी रिमिक्स क्लबका डि महर्जन र बि. श्रेष्ठको जोडीले टु स्टार ब्याडमिन्टन क्लबका सविन महर्जन र सुमन पोखरेलको जोडीलाई २१–१२, २१–८ ले पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का गरे । 

प्रतियोगिता यु १९ पुरुष तथा महिला एकल खुल्ला, पुरुष युगल र भेट्रान ४५ माथि गर चार विधामा प्रतिस्पर्धा हुने छ । यु १९ पुरुष एकल तर्फ ५० खेलाडी, महिला एकल तर्फ १३, पुरुष युगलमा ५५ जोडी र भेट्रान ४५ वर्ष माथि २१ जोडीले प्रतिस्पर्धा गर्ने छन् । 

१५ लाख अनुमानित लागत रहेको प्रतियोगितामा यु १० पुरुष तथा महिला तर्फ उत्कृष्ट तीन स्थान हात पार्ने खेलाडीहरूले नगद १५ हजार, १० हजार र ५ हजार, पुरुष युगल तर्फ ५० हजार २५ हजार र १० हजार तथा भेट्रान तर्फ ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल टफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्