१ नं प्रदेशका ११ सहित ५७ जिल्लाका बालबालिकालाई आइतवारदेखि कोरोनाविरुद्धको खोप दिइँदै


काठमाडौँ, ३ पौष । सरकारले भोलि (आइतवार) १ नं प्रदेशका ११ सहित विभिन्न ५७ जिल्लाका बालबालिकालाई आइतवारदेखि कोरोनाविरुद्धको खोप दिने भएको छ । १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको मोडर्ना खोप दिइन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

१ नं प्रदेशका कोरोना खोप दिइने जिल्लामा ताप्लेजुङ, संखुुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर रहेका छन् भने २ नं प्रदेशका सिरहा, महोत्तरी, सर्लाही, रौतहट र बारा तथा वाग्मतीमा दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर रहेका छन् ।  

यसैगरी गण्डकीका गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत जिल्ला तथा लुम्बिनीका रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया जिल्ला रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यस्तै कर्णालीका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्ला तथा सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुरमा बालबालिकालाई खोप दिन लागिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले अरू बाँकी रहेका जिल्लामा भने फाइजर खोप लगाइने र त्यसको तयारी भइरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्