बेतना सिमसारमा तालाबन्दी : बेलबारी ४ बाहेक अन्य वडाको परिषद् सदस्य खारेज गर्न माग


बेलबारी, ४ पौष । बेतना सिमसार सामुदायिक बनको प्रवेशद्वार तथा कार्यालयमा तालाबन्दी भएको छ । आइतबार बेतना सिमसार सामुदायिक बन तथा सिचाई उपभोक्ता सङ्घर्ष समितिले बनको प्रवेशद्वार तथा कार्यालयमा ताला लगाएको हो ।

सङ्घर्ष समितिले तिन बुँदे मागसहित तालाबन्दी गरेका छन् । स्थानीय उपभोक्ताहरूको चाहना र भावना अनुसार समिति गठन गर्न, सामुदायिक वनको नीति र विधि अनुसार विधान संशोधन गरी साधारणसभा गर्न र बेलबारी वडा नं.४ बाहेक अन्य वडामा बाँडिएको परिषद् सदस्य खारेज गर्न सङ्घर्ष समितिले माग राखेका छन् । माग पुरा नभए सम्म आन्दोलन जारी रहने सङ्घर्ष समितिका संयोजक मनि लिम्बुले बताएका छन् । बेतना सिमसार सामुदायिक बन उपभोक्ता समितिद्वारा आर्थिक अनियमितता भइरहेको संयोजक लिम्बुले आरोप लगाएका छन् । 

वडा नं.१ देखी ११ नं. वडासम्मलाई परिषद् सदस्य वितरण गरिनु नै गलत भएको संयोजक लिम्बु बताउँछन् । सोही कारण बेतिथि उत्पन्न भएको लिम्बुको दाबी रहेको छ । उनले वडा नं.४ बाहेक अन्य वडामा बाँडिएको परिषद् सदस्य खारेज गर्न माग राख्दै विधान संशोधन गर्नु पर्ने बताएका छन् । बेलबारी सब डिभिजन कार्यालयमा मङ्सिर १४ गते सङ्घर्ष समितिको माग सम्बोधनको लागि निवेदन पेस गर्दा पनि बैठकको लागि केही खबर नगरे पछि तालाबन्दी गर्न बाध्य भएको लिम्बुले बताए ।

बेतना सिमसार सामुदायिक बनका अध्यक्ष डम्बर बस्नेत भने वडा नं.४ बाहेक अन्य वडामा बाँडिएको परिषद् सदस्य खारेज गर्ने विषय कठिन रहने बताएका छन् । बेतना एक वडाको मात्र नभएर सिङ्गो बेलबारीको नै साझा सम्पदा भएकोले सबैको सम्मान अधिकार रहेको अध्यक्ष बस्नेत बताउँछन् ।तालाबन्दी कार्यक्रम बारे औपचारिक जानकारी नभएको बस्नेतले बताए । जानकारी नभएको गुनासो गर्दै उनले भने, ‘जानकारी भएको भए तालाबन्दी गर्ने दिन बिदा गर्ने थियौ । बेतना घुम्न आउने पर्यटकले सास्ती पाउने थिएन । तालाबन्दीको कारण नकारात्मक सन्देश प्रदान हुन्छ ।’ 

अध्यक्ष बस्नेतले आर्थिक अनियमितता भएको नभएको बारे अख्तियार अनुसन्धान आयोगले फैसला गर्ने बताउँदै भ्रष्टाचार प्रमाणित भए कानुन बमोजिम सजायको भागिदार रहने समेत बताए । उनी अधिवेशन गर्न ३ वर्ष ढिलो भइसकेको बताउँछन् । डम्बरका अनुसार संरक्षण समितिले चैतमा सब डिभिजन वन कार्यालय बेलबारीका प्रमुख दिपेस मिश्रको अध्यक्षतामा ३२ सदस्सीय परिषद् छनोट समिति बनाएको छ ।सङ्घर्ष समितिका प्रतिनिधि सहित असोजमा ५ सदस्सीय विधान मस्यौदा समिति पनि बनाएको अध्यक्ष बस्नेतले जनाएका छन् । सङ्घर्ष समितिका अध्यक्ष मनि लिम्बु पनि विधान मस्यौदा समितिको सदस्य रहेको अध्यक्ष बस्नेतले जनाए । अध्यक्ष बस्नेतका अनुसार परिषद् छनोट समितिले पौष ९ गते सबै वडाबाट परिषद् सदस्य ल्याउनका लागि प्रत्येक वडामा निर्वाचन समिति बनाई सकेको बताए । 

बेतना सिमसार सामुदायिक बन उपभोक्ता समितिले लामो समय सम्मा अधिवेशन गर्न नसक्दा उपभोक्ताको गुनासो थप बढ्दै गएको छ । यही कारण पनि उपभोक्ता र समिति बिच विवाद बढ्दै गएको अनुमान गर्न सकिन्छ । अख्तियार अनुसन्धान आयोगमा उजुरी परे पनि केही निर्णय नआइसकेको कारण स्थानीयलाई शङ्कासँगै थप कौतुहलता बढाई दिएको छ । अधिवेशनद्वारा सक्षम नयाँ नेतृत्व आए मात्र विवादको टुङ्गो लाग्नुको साथै बेतना सिमसारको विकास हुन्छ भन्ने स्थानीयको आशा रहेको देखिन्छ ।  

प्रतिक्रिया दिनुहोस्