सर्वदलीय बैठकमा एमसीसीका बारेमा ककसले के भने ?


काठमाडौँ, ५ पौष । एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनमै फरक फरक मत प्रस्तुत भएका छन् । हिजो (आइतवार) प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमसीसीबारे यस्तो फरक फरक धारणा प्रस्तुत भएका हुन् । 

सत्ता गठबन्धनको मूख्य दल नेपाली काँग्रेस जसरी पनि यसलाई पास गराउने मनसायमा देखिएको छ भने सत्ता घटककै दुई ठूला दल माओवादी केन्द्र र एकीकृत समाजवादी भने अहिलेको यही अवस्थामा एमसीसी पास गर्न नहुने अडानमा देखिएको छ । सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमसीसीलाई अहिलेकै अवस्थामा पास गर्न नसकिने, त्यसको लागि सबैसँग सल्लाह गरेर अघि बढ्नु पर्ने विचार व्यक्त गरेका थिए । 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि अहिलेको अवस्थामा एमसीसीलाई जस्ताकोतस्तै पास गराउनु नहुने विचार व्यक्त गरे । उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकलाई बहिस्कार गरेको थियो । 

उता  नेपाल मजदुर किसान पार्टी भने कुनै पनि सर्तमा एमसीसी पास हुनु नहुने अडानमा रहेको छ । नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले सर्वदलीय बैठकमा त्यही विचार व्यक्त गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले पनि एमसीसीलाई समर्थन गर्न नसकिने धारण राखेका थिए ।  

सत्ता समीकरणकै मुख्य दलको हालको अडान हेर्दा एमसीसी अहिलेकै अवस्थामा पास नुहुने देखिए पनि केहीले भने ठूला पार्टीहरूको यो अडान देखावटी मात्र भएको, भित्रभित्रै पास गराउने सहमति भइसकेको बताउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्