सुन्दरहरैँचाको बुधबारेमा ११ करोडको लागतमा बन्ने भयो सुविधा सम्पन्न ‘कृषि बजार‘


सुन्दरहरैँचा, ६ पौष । सुन्दरहरैँचाको बुधबारेमा ११ करोडको लागतमा सुविधा सम्पन्न कृषि बजार (एग्रिकल्चर मार्केट) निर्माण हुने भएको छ । सोमबार शहरी पूर्वाधार विकास कार्यक्रम (UIDP) अन्तर्गतको वडा नं ९ मा रहेको बुधवारेमा कृषि बजार निर्माण गर्ने गरी ११ करोड ४१ लाख ५० हजार रकम बराबरको योजनाका लागि सम्झौता भएको हो । 

सम्झौता पत्रमा नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकालले हस्ताक्षर गरेका छन् । 

कृषि बजार निर्माणका लागि ८० प्रतिशत नगर विकास कोष र २० प्रतिशत लागत रकम नगरपालिकाबाट बेहोरिने नगर प्रमुख शिव प्रसाद ढकाले जनकारी दिएका छन् । करिब १० रोपनी क्षेत्रफलमा निर्माण हुन लागिएको उक्त आयोजनालाई नगरपालिकाले नगरकै एउटा गौरवको आयोजनाको रूपमा लिएको छ । 

सोमवार भएको कार्यक्रममा कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले परियोजनाले नगरपालिकालाई व्यवस्थित बनाउने आसा व्यक्त गरे भने नगरप्रमुख ढकाले यस परियोजनामार्फत आफूहरू नगरपालिकालाई व्यवस्थित र एउटा नमुना कृषि बजारको रूपमा स्थापित गर्ने सोचमा रहेको बताए ।  साथै नगरप्रमुख ढकालले आयोजनालाई गुणस्तरीय रूपमा समयमा सम्पन्न गर्नेतर्फ नगरपालिकाको ध्यान केन्द्रित हुने पनि प्रतिबद्धता जाएर गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्