बेलबारी नगरपालिका वडा नं २ को कार्यालय भवनको शिलान्यास


बेलबारी, ७ पौष । बेलबारी नगरपालिका वडा नं – २ को नयाँ कार्यालय भवनको आज एक कार्यक्रमबिच शिलान्यास भएको छ । बेलबारी नगरपालिका वडा नं २ लक्ष्मी टोलमा निर्माण हुन गइरहेको वडा कार्यालयको नयाँ भवनको नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले शिलान्यास गरेका हुन् ।

वडा कार्यालय भवन स्थानीय गणेश दाहाल र कुमार दाहाले निशूल्क रूपमा प्रदान गरेको तीन कठ्ठा जमिनमा निर्माण हुन लागेको हो । वडा कार्यालय भवनको शिलान्यास पछिको कार्यक्रमलाई संवोधन गर्दै नगरप्रमुख सुवेदीले भवन निर्माणका लागि जग्गा उपलब्ध गराएकोमा दाहाल परिवारलाई धन्यवाद दिँदै उहाँहरूको यो कार्यलाई वडावासीले पछि सम्म सम्झिरहने बताए । 

नगरप्रमुख सुवेदीले आफूहरू जनप्रतिनिधि भएर आए पछि आवश्यक कानुन बनाउने क्रममै रहेको बेलामा देशमा आएको कोरोना महामारीले धेरै अवरोध पुर्‍याए पनि आफूहरू नगरको विकासमा निरन्तर लागिरहेका बताए । 

उपप्रमुख ढाकाकुमारी पराजुलीले भवन निर्माणमा नगरपालिकाको तर्फबाट  निरन्तर निगरानी भइरहने बताउँदै स्थानीयको तर्फबाट पनि निगरानीको खाँचो रहेको औँल्याइन् । 

जग्गा दाता कुमार दाहालले लोक मार्गको नजिकै भएर पनि तुलनात्मक रूपमा पछि रहेको यस क्षेत्रको विकासमा टेवा पुगोस् भनेर आफूहरूले जग्गा दान गरेको बताए ।

साथै समाज विकासको रूपान्तरणमा सहयात्री बन्न पाएकोमा खुसी व्यक्त गर्दै भने ‘लोक मार्गको यति नजिकै भएर पनि यो क्षेत्रको विकास हुन सकेन । यस क्षेत्रको समग्र विकासका लागि जग्गा दान गरेका हौँ । यसरी समाजको रूपान्तरणको हिस्सा बन्न पाएकोमा खुसी लागेको छ ।’ 

उक्त कार्यक्रममा नगर कार्यपालिका सदस्य खिनमाया थापा, वडासदस्यहरु भगिमाया विशंखे, मनु राई, कृष्णबहादुर लिम्बू, पन्चदीप सहकारीका अध्यक्ष लक्ष्मणजंग थापा, सुकुना मावि सुन्दरहरैँचाका सहायक प्रधानाध्यापक राजेन्द्र प्रसाद गिरी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू, वडा कार्यालयका कर्मचारीहरू, जग्गादाताका परिवारका सदस्यहरू तथा स्थानीयहरूको पनि उल्लेख्य सङ्ख्यामा सहभागिता रहेको थियो ।

बेलबारी नगरपालिका वडा नं २ का अध्यक्ष घनश्याम गौतमको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रमको सञ्चालन भने वडा सचिव राजेन्द्र खतिवडाको रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्