क्यान्सर पीडित प्रिस्कालाई सिद्धार्थ स्कुलद्वारा रु.१ लाख ५६ हजार सहयोग


सुन्दरहरैंचा, ७ पौष । सुन्दरहरैचा नगरपालिका वडा नं.१० की प्रिस्का पराजुलीको उपचारको लागि सिद्धार्थ स्कुलका विद्यार्थी तथा शिक्षकद्वारा १ लाख ५६ हजार ९ सय ६० रुपैयाँ सहयोग भएको छ । क्यान्सर पीडित प्रिस्का वडा नं. १० मा अवस्थित सिद्धार्थ सेकेण्डरी स्कुलका विद्यार्थी हुन ।

वर्ष ११ की प्रिस्काको हाल भारतको दिल्लीमा उपचार भइरहेको छ । करिब २ वर्ष देखी लिंफोमाबाट बिरामी प्रिस्का सिद्धार्थ स्कुलको कक्षा २ मा अध्ययन गर्दै थिइन । गत सालदेखि भने बिरामी भएको कारण स्कुलबाट वञ्चित भएकी छिन । उनीसँगै अध्ययनरत विद्यार्थी तथा अन्य कक्षाका विद्यार्थीहरूले खाजा खाने पैसा बचाएर, आफ्ना अभिभावकलाई बुझाएर कसेको सहयोग सबैले गरेका छन् ।

विद्यालयका शिक्षकहरूले पनि स्वास्थ्य लाभको कामना गर्दै आर्थिक सहयोग गरेका छन् साथै विद्यालयका सञ्चालक अर्जुन बस्नेतले रु.११ हजार सहयोग प्रदान गरेका छन् । प्रिस्काको उपचारको लागि अन्य विद्यालयको साथै सहयोगी भावना भएका व्यक्तिहरूलाई पनि आर्थिक सहयोगको अपिल गरेका छन् ।  

उपचारको लागि हाल सम्म करिब ६२ लाख  रुपैयाँ खर्च भइसकेको प्रिस्का बाजे भिम बहादुर चौहान बताउँछन् । भिम बहादुर प्रिस्काकी मामाली बाजे हुन । भिम बहादुरका अनुसार नातिनीको उपचारको लागि जुवाइँ छोरीले भएको सबै घर जग्गा जमिन बिक्री गरिसकेका छन् । भएको सम्पत्ति सबै बेचिसक्दा पनि उपचारको लागि आर्थिक अभाव भएको कारण सहयोगको अपिल गर्न बाध्य भएको भिम बहादुर बताउँछन् ।

उनका अनुसार थप करिब १४ लाख रुपैयाँ उपचारको चाहिएको छ । उपचार खर्च जुटे प्रिस्का पूर्ण रूपमा निको हुने डक्टरले बताएको भिम बहादुरले जनाए । जुवाइँ वैदेशिक रोजगारमा हुँदा आर्थिक आय थियो तर नानी प्रिस्काको उपचारको लागि जागिर जोडे पछि आयआर्जनको स्रोत पनि बन्दा भएको भिम बहादुर बत्ताऊ छन् ।

अहिले प्रिस्काको परिवारलाई बज्रपात परेको छ । प्रिस्का भने मृत्युसँग हरपल लडाई लडिरहेकी छिन । यस अवस्थामा प्रिस्कालाई हामी सबैको सहयोगको आवश्यक परेको छ । यदि तपाई हामीले गरेको सानो आर्थिक सहयोगले प्रिस्काले मृत्युलाई पराजित गर्दै नयाँ जीवन पाउँछिन् भने इच्छा भएका सबैले सहयोग गरौँ । 

प्रतिक्रिया दिनुहोस्