विप्लव समूहका २१ नेता पक्राउ पर्दा पेस्तोलसहित विस्फोटक पदार्थ बरामद


दाङ, १ कार्तिक । पक्राउ परेका प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ नेताबाट बरामद भएका हतियार साथै विस्फोटक पदार्थ प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ ।

प्रहरीले ‘विप्लव’ समूहका २१ नेतालाई दाङमा राप्ती ब्युरो बैठक स्थलमा घेरा हाली बिहीबार राति पक्राउ गरेका थिए । पक्राउ पर्नेमा विप्लवका दाजु चन्द्रबहादुर चन्द ‘बीरजंग’ लगायत छन् ।

विप्लव समूहका नेताहरूबाट बरामद भएको ६ पेस्तोल, विस्फोटक पदार्थ र सञ्चार सामग्रीहरू शुक्रवार प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीले हतियार साथै विस्फोटक पदार्थ सार्वजनिक गरे पनि नेताहरूलाई भने सार्वजनिक गरेको छैन ।

नेताहरुविरुद्व सङ्गठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ । उनीहरूको साथबाट मेड इन यूएसए लेखिएका दुई पेस्तोल, चार कटुवा पेस्तोल, थ्रिनटथ्री राइफलको ५ राउन्ड गोली, एक सुतली बम र ३ लाख ८४ हजार ५ सय ३० रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले जनाएका छन् ।

प्रवक्ता शाहका अनुसार २४ मोबाइल सेट, केन्द्रीय समितिको आठौँ पूर्ण बैठकको राजनीतिक प्रस्ताव, नेपाल कम्युनिस्ट पार्टीको परिपत्र, प्रेस विज्ञप्ति, आर्थिक सहयोगका लागि लेखिएका चिठ्ठी ३० थान, नेकपाको छाप एक, विभिन्न राजनीतिक दर्शनका १३ किताब, १६ डायरी र २१ झोलाहरू भेटिएको थियो ।

यस्तै दिपराज सेपाईलीको नाममा रहेको ग्लोबल आईएम्ई बैङ्कको २ थान चेक तथा तिलकबहादुर गुरुङ र दिपराज सेर्पाइलीको संयुक्त नाममा रहेको ग्लोबल आईएमई बैङ्कको २ थान चेक पनि बरामद भएको शाहले जानकारी दिए ।

मङ्सिरमा हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी चन्द समूहले जङ्गलको बस्तीमा बैठक आयोजना गरेको प्रहरीको अनुमान । नेताहरू त्यस क्षेत्रमा गएको सूचना पाएपछि राजपुर गाउँपालिका–४ मुङग्रेठास्थित ज्ञानेन्द्रविक्रम रानाको घरमा बैठक बसिरहेको अवस्थामा बिहीबार राति १ बजे बैठकस्थलमै जिल्ला प्रहरी घोराही, इलाका प्रहरी कार्यालय गढवा र वडा प्रहरी कार्यालय लमहीको टोलीको परिचालनमा घेरै गरी पक्राउ गरेको थियो ।

बैठकस्थल पुग्न गढवा बजारबाट राजपुरको मतियानी खोलासम्म करिब ६ किलोमिटर गाडीमा यात्रा गर्नुपर्छ । त्यसपछि सडक नभएकाले तीन घण्टा पैदल यात्रा गरेर घटनास्थल पुगेको प्रहरीले जनाएको छ । बैठकस्थल गढवाबाट करिब १५ किलोमिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्