बेलबारीको स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उपकुलपति डा. गुरुङ आउँदै


बेलबारी, १४ पौष । बेलबारी साहित्य विकास समितिको स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् संस्कृति विभागका प्रमुख डा.जगमान गुरुङ बेलबारी आउने भएका छन् ।

आयोजकले आज बेलबारीमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त जानकारी गराएको हो । बेलबारी साहित्य विकास समितिकी अध्यक्ष तिला लेकालीले बेलबारी ३ मा रहेको ड्रिमल्याण्ड फनमा आयोजित पत्रकार सम्मेलनमा पुस २४ गते संस्थाको चौथो साधारणसभाको अवसरमा स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि उपकुलपति डा. गुरुङ रहने जानकारी गराइन् । 

सोही अवसरमा स्रष्टा ईरान राईलाई २५ हजार राशिको बेलबारी साहित्य पुरस्कार र कलाकार मेखराज कार्कीलाई १५ हजार राशिको बेलबारी कला पुरस्कार प्रदान गरिने भएको छ । साथै उक्त अवसरमा प्राज्ञ गङ्गा सुवेदीलाई विशेष सम्मान प्रदान गरिने संस्थाकी अध्यक्ष लेकालीले जानकारी दिएकी छिन् । 

संस्थाले विगतका वर्षहरूदेखि नै साहित्य तथा कला क्षेत्रमा योगदान दिनेलाई पुरस्कृत गर्दै आएको छ । समितिले दिएको जानकारीअनुसार बेलबारी साहित्य पुरस्कारबाट यसअघि हर्कमान तामाङ र रमेशकुमार तामाङ पुरस्कृत भैसकेका छन् भने बेलबारी कला पुरस्कारबाट श्याम गौतम र शिव छाङ्छा पुरस्कृत भइसकेका छन् । 

सो अवसरमा संस्थाको साधारण सभाका अतिरिक्त रचना वाचनसमेत हुने आयोजकले जनाकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्