आलमबारे अभिव्यक्ति विवादमा परेपछि देउवाको विज्ञप्तिमार्फत स्पष्टीकरण


काठमाडौँ, २ कात्तिक । मोहम्मद अफताब आलमबारे आफ्नो अभिव्यक्ति विवादमा परेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्तिमार्फत स्पष्टीकरण दिएका छन् ।

शुक्रवार भएको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यक्रममा १२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गर्न पाइन्छ भन्दै सरकारविरुद्ध आक्रामक अभिव्यक्ति प्रकट गरेका थिए । सो कार्यक्रममा सभापति देउवाले आलम पक्राउलाई कांग्रेस विरुद्धको षडयन्त्र बताएका थिए ।

आलमविरूद्ध २०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका मानिसलाई ज्युँदै इटाभट्टामा पोलेर मारेको आरोपमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिराखेको छ।आलम नेपाली कांगे्रसका नेता तथा रौतहट २ का सांसद हुन ।

तर आज (शनिवार) सभापति देउवाले प्रेस विज्ञप्ति सार्वजनिक गरेर मोहम्मद आफताव आलमको मुद्दामा पूर्वाग्रह र दबावमुक्त रहेर अनुसन्धानमा कांग्रेसको सहयोग हुने बताएका छन् । सभापति देउवाले कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा सत्य अन्वेषणमा बाधा पुग्ने भन्दै उनले भने, ‘१२ वर्ष पुरानो मुद्दामा मैले यही सङ्केत गरेको हुँ तर कानुनी राज्यमा विश्वास गर्ने काँग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन ।’

देउवाले भने, ‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति नहुने हाम्रो प्रस्ट मान्यता म सार्वजनिक रूपले प्रस्ट्याउन चाहन्छु ।’

 

प्रतिक्रिया दिनुहोस्