नेपाल सितेरियोलाई बङ्गलादेशमा चार स्वर्ण


काठमाडौँ, २० पौष । बङ्गलादेशमा सम्पन्न बि–जी कराँते च्याम्पियनसिप २०२१ म नेपाल सितेरियो कराँतेका खेलाडीहरूले ४ स्वर्ण पदक हात पार्न सफल भएका छन् ।मुजिबको सयौँ जन्मोत्सवको अवसरमा बङ्गलादेश गोजुरियो कराँते महासङ्घको सहयोग तथा बंगालदेश बशप सङ्घको आयोजनामा भएको प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा डिजेन डोल्मा लामा रहेकी छिन् ।

लामाले कुमिते र कातामा गरी २ स्वर्ण प्राप्त गरेकी हुन् । यस्तै पासाङ तामाङले ७० केजी तौलको कातामा स्वर्ण हात पारेको टिम व्यवस्थापक रामकुमार श्रेष्ठले जानकारी गराए । श्रेष्ठका अनुसार स्वर्ण प्राप्त गर्ने अन्यमा ग्याल्मो सोमिका लामा पनि रहेकी छिन् । उनले ३५ केजी तौलको कुमिते तर्फ स्वर्ण प्राप्त गरेकी छिन् । यस्तै गरी नेपाली टोलीले २ रजत र ५ कास्य पदक पनि जोडेको छ । पासाङ तामाङ  ७० केजी  र राजदेव बमजन ६५ केजी रहेका छन् । दुवैले कुमितेतर्फ रजत प्राप्त गरेका हुन् ।

यसैगरि कास्य पदक प्राप्त गर्नेमा रवीन्द्र कुँवरले खुल्ला तर्फ, युरोडिस रोक्का ६० केजी, उमेश भण्डारी ५५ केजी, रविना ४५ केजी तथा उमङ्ग बुढाथोकी १४ वर्ष मुनि उमेर समूह रहेका छन् ।च्याम्पियनसिपमा छत्रबहादुर आले मगर, रामचन्द्र गुरुङ, नारायण श्रेष्ठ, प्रकाश तामाङ लामा, मिङ्गमा तामाङ र गणेशलाल श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए । 

बङ्गलादेश गएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र राखेपका सदस्य पुरेन्द्र विक्रम लाखेले बिदाइ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्