बेलबारी ३ मा रहेको भगवती माविको ५८ औँ वार्षिकोत्सव सम्पन्न


    

बेलबारी, २१ पौष । बेलबारी नगरपालिका वडा नं ३ मा रहेको भगवती माविले आज एक कार्यक्रमबिच आफ्नो ५८ औँ वार्षिक उत्सव सम्पन्न गरेको छ । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले विद्यालयको वार्षिक उत्सवको उद्घाटन गरेका थिए । 

उद्घाटन पछि कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि एवम् बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गुणस्तरीय शिक्षाले मात्र आजको आवश्यकता भएकोले सबै जना मिलेर यसतर्फ लाग्नु पर्ने बताउँदै नगरपालिका नगरको शिक्षालाई व्यवस्थित गर्ने क्रममा रहेको बताए । 

बेलबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख भूपेन्द्र कोइरालाले जीवनोपयोगी शिक्षाको खाँचो औँल्याउँदै त्यसको लागि सानैदेखि बालबालिकालाई मेहनत गर्न सिकाउनु पर्ने बताए । संस्कारयुक्त शिक्षाको सुरुवात घरबाटै हुने भन्दै नगरपालिकाले क्षतिपूर्तिसहितको शिक्षामा जोड दिएको बताए ।

 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रताप थापाले शिक्षामा अपेक्षाकृत रूपमा परिवर्तन हुन नसकेकोमा गुनासो व्यक्त गर्दै भगवती माविलाई आफूहरू एउटा राम्रो विद्यालयको रूपमा विकास गर्ने क्रममा रहेको बताए ।                                                  

प्रधानाध्यापक नारायणप्रसाद आचार्यले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै काँधमा आएको जिम्मेवारीलाई सफल रूपमा अगाडि बढाउन आफ्नो अथक प्रयास रहने बताए । उनले धेरै चुनौती भए पनि त्यसलाई अवसरको रूपमा प्रयोग गर्नु पर्ने कुरामा जोड दिए । 

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवम् माओवादी केन्द्र बेलबारीका नगर कमिटी अध्यक्ष पर्शुराम सुवेदी, नेपाली काँग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी, युवा जागरण अभियान नेपालका अध्यक्ष सुजित कुमार बस्नेत, पूर्व शिक्षक देवेन्द्रकुमार काफ्ले लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।                  

उक्त अवसरमा लामो समय सेवा गरेर हालै सेवा निवृत्त भएका निवर्तमान प्रधानाध्यापक मानबहादुर कार्कीसहित पूर्व शिक्षकहरूलाई सम्मान गरिएको थियो ।                                  

साथै सोही अवसरमा प्रत्येक कक्षामा उत्कृष्ट हुने विद्यार्थी, गायन, नृत्य लगायत अतिरिक्त प्रतियोगितामा प्रथम द्वितीय तथा तृतीय हुने छात्र छात्रलाई पुरस्कृतसमेत गरिएको थियो । साथै उक्त कार्यक्रममा कबीर माविका प्रधानाध्यापक प्रेम कार्की, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू हरिबहादुर बस्नेत, शिवप्रसाद बराल, विद्यालयका पूर्व प्रधानाध्यापक सदानन्द सुवेदी, कबीर माविका पूर्व प्रधानाध्यापक दुर्गाप्रसाद गौतम, नेकपा एमाले नगर कमिटी सचिव शंकर गुरुङ लगायतको सहभागिता रहेको थियो ।

 
आमा बुबाका नाममा अक्षय कोषको स्थापना

बेलबारी ३ का सुविधा मेडिकल हल सञ्चालक प्रकाश न्यौपानेले विद्यालयको ५८ औँ वार्षिक उत्सवको अवसर पारेर शैक्षिक उन्नयनका लागि सहयोग पुगोस् भनेर बुबा–आमाका नाममा विद्यालयका नाममा ६ लाख ५१ हजारको अक्षय कोषको स्थापनाको घोषणा गरे । उनले गरिब तथा विपन्न बालबालिकालाई अध्ययनमा सहयोग पुगोस् भनेर आफूले छात्रवृत्तिको स्थापना गरिदिएको बताए । 

साथै सोही विद्यालयको २०४४ सालको प्रवेशिका परीक्षामा सामेल भएका पूर्व विद्यार्थीहरूको तर्फबाटसमेत १ लाख १ हजार बराबरको अक्षय कोषको घोषणा गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्