कर्मचारीमा कोभिड देखिएपछि माओवादी केन्द्रको केन्द्रीय कार्यालय बन्द


काठमाडौँ, २२ पौष । कर्मचारीमा कोभिड देखिएपछि नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बन्द गरिएको छ । पेरिस डाँडामा कार्यरत पाँच कर्मचारीसहित ६ जनामा कोरोना पुष्टि भए पछि केन्द्रीय कार्यालय बन्द गरिएको हो ।

लेखा प्रमुख देवेन्द्र पराजुलीसहित, कार्यालय सचिव डोरप्रसाद उपाध्याय, क्यान्टिन सञ्चालक सञ्जीव थापा, अंशु पुडासैनी र विनोद थापालाई कोरोना देखिएको छ । यसरी कर्मचारीमा कोरोना पुष्टि भएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनैतिक भेटघाटलाई स्थगन गरेका छन् । 

केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले लेखा प्रमुखसहित ६ जनालाई कोरोना पुष्टि भएपछि कार्यालयमा अति जरुरी बाहेक सबै सेवा बन्द गरिएको बताएका छन् । 

प्रचण्डको सचिवालयले पनि राजनीतिक कामको व्यस्तता, भिडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौँलगायतका विभिन्न स्थानमा बढेको कोभिड सङ्क्रमण तथा स्वास्थ्यकर्मीहरूको समेत सुझावलाई मध्यनजर गर्दै तीन दिनयता भौतिक रूपमा भेटेरै भइरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई रोकेको कुरा बताएको छ । 

प्रतिक्रिया दिनुहोस्