बेलबारीमा स्व. हर्क गुरुङको स्मृतिमा पुस्तकालयको स्थापना


बेलबारी, २३ पौष । बेलबारीमा स्वर्गीय हर्क गुरुङको स्मृतिमा पुस्तकालयको स्थापना भएको छ । बेलबारी –१, मा रहेको तमु बौद्धिष्ट गुम्बामा तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद् बेलबारीद्वारा स्थापना गरिएको पुस्तकालयको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा.जगमान गुरुङले गरेका हुन् ।

पुस्तकालयको उद्घाटन गर्दै उपकुलपति प्रा.डा.गुरुङले नेपाल बहुजातीय बहुभाषिक र सांस्कृतिक मुलुक भएको बताउँदै नेपालको एकीकरणमा जातजातिको महत्त्वपूर्ण भूमिका रहेको बताए । आफू गुरुङको छोरो भएकोले जातीय संस्कृति मान्ने तर धार्मिक अतिवादमा भने विश्वास नगर्ने उद्घोष गरे । प्रस्ट वक्ता भएकै कारणले पनि आफूलाई केही अतिवादीले बाहुनवादी भएर उनीहरूकै भाषा बोल्छ भन्ने आरोप लाउने गरेकोसमेत बताए ।

उनले भने ‘म जे छ त्यही बोल्छु । सत्य सधैँ तितो हुन्छ । त्यसलाई सबैले स्वीकार गर्नै पर्छ । त्यही भएर केही अतिवादीले मलाई बाहुनवादी हो, यसले बाहुनको भाषा बोल्छ भन्ने आरोप लाउने गर्छन् ।’ 

हरेक कुरामा स्वच्छ प्रतिस्पर्धा गर्नु पर्ने बताउँदै गुरुङले आफू सधैँ आदिवासी जनजाति संस्कृतिको पक्षमा रहेको पनि बताए । अरूको विरोधभन्दा पनि आफू सक्षम हुनु पर्ने कुरामा जोड दिँदै त्यसको वातावरण सिर्जना गर्नु पर्नेमा लाग्नु पर्ने बताए । बौद्धिकताको कदर सर्वत्र हुने हुँदा आदिवासी–जनजाति समुदायलाई योज्ञता बढाउन आग्रहसमेत गरे । 

उक्त कार्यक्रममा स्रष्टा समाजका अध्यक्ष एवम् पूर्व सांसद हर्कमान तामाङ, स्रष्टा एवम् राजनीतिकर्मी ईरान राई, स्रष्टा एवम् संस्कृतिविद् रमेशकुमार तामाङ, तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद्का प्रदेश अध्यक्ष कृष्णराज गुरुङ, मोरङ जिल्ला अध्यक्ष मनकुमार गुरुङ लगायतको उपस्थिति रहेको थियो । 

तमु ह्युल छो धी गुरुङ राष्ट्रिय परिषद् नगर अध्यक्ष रन्जित गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने नगर सचिव कमलबहादुर गुरुङको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्