बेलबारी नगर कार्यपालिका सदस्य थापा एकीकृत समाजवादीमा प्रवेश


बेलबारी, २५ पौष । बेलबारी नगरपालिका वडा नं –२ की वडा सदस्य एवम् नगर कार्यपालिका सदस्य खीनमाया थापा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेकी छिन् । आइतवार बेलबारी वडा नं –२ मा रहेको लालभित्ती क्याफेको प्राङ्गणमा आयोजित कार्यक्रममा उनलाई एकीकृत समाजवादीका जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य हर्कमान तामाङले अबिर मालाले स्वागत गरेका थिए । 

उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष भूपाल बस्नेत, नगर इन्चार्ज कमल कोइराला, वडा संयोजक सरोज चाम्लिङ, लगायतको उपस्थिति रहेको थियो । 

३६ वर्षसम्म एमालेमा रहेर काम गरेको भए पनि नेतृत्वले पार्टीलाई सही ढङ्गले संचालन गर्न नसकेको आरोप लगाइन् । नेकपा कालमा -२ नं को वडा सह–इन्चार्ज भएर काम गरेको भए पनि आफूलाई पछिल्लो समय आफूलाई भूमिकाविहीन बनाइएको बताइन् । औपचारिक रूपमा आज पार्टीमा प्रवेश गरेको भए पनि उनले आफू पहिलादेखि नै समाजवादीमै रहेको बताइन । 

पार्टी प्रवेश पछि उनले भनिन् ‘औपचारिक रूपमा म आज एकीकृत समाजवादीमा प्रवेश गर्दै छु तर अनौपचारिक रूपमा भने म पहिला देखि नै यही पार्टीमा थिएँ ।’

पूर्व सांसदसमेत रहेका एकीकृत समाजवादीका नेता हर्कमान तामाङले एमालेको समाजवाद हात्तीको देखाउने दाँत मात्र रहेको आरोप लगाए । 

प्रतिक्रिया दिनुहोस्