पाहुना आएका मानिसको हत्याको आरोपमा लेटाङमा एक जना वृद्ध पक्राउ


मोरङ, २७ पौष । पाहुना आएका मानिसको हत्याको आरोपमा मोरङको लेटाङका लेटाङमा एक जना वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ नगरपालिका– २ का ८१ वर्षीय डम्बरबहादुर भुजेल रहेको प्रहरीले जनाएको छ ।

सोमबार राति प्रहरीले भूजेलललाई ६० वर्षी प्रेमबहादुर बुढाथोकीको हत्याको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेका भूजेललकै आँगननजिकै मृतक बुढाथोकीको शव फेला परेको थियो । बेलुका घरबाट शव घिसारेर बाँस घारीसम्म लैजाँदै गर्दा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।  मृतक बुढाथोकी केही दिनयता हत्या आरोपी भुजेलको घरमा बस्दै आएका थिए ।

सोमबार बेलुका उनीहरूले सँगै मदिरा सेवन गरेको स्थानीयले बताएका छन् । मदिरा सेवनपछि उनीहरूबिच विवाद भएको र विवादपछि बन्चरो प्रहार गरी हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले हत्या आरोपमा अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको बताए ।प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्