जलकन्याका पूर्व विद्यार्थीहरू आफूले पढेको विद्यालयलाई सहयोग गर्न अनलाइनमार्फत जुट्दै


आठराई, २७ पौष । सामाजिक संजालको दुरुपयोग भएका खबरहरू बारम्बार सुनिँदै आएका छन् । तर सामाजिक संजालको दुरुपयोग मात्र होइन यसको सदुपयोग गरेर सामाजिक काम गर्नेहरू पनि भेटिन्छन् । यही सामाजिक संजालको प्रयोग गरेर आफूले अध्ययन गरेको विद्यालयको शैक्षिक उन्नयनका लागि आठराई –२, खाम्लालुङ, तेह्रथुममा रहेको जलकन्या आधारभूत विद्यालयका पूर्व विद्यार्थीहरू एकजुट भएका छन् ।

आठराई खाम्लालुङ, तेह्रथुममा जन्म भई हाल मोरङको बेलबारीमा बसेर शिक्षण तथा पत्रकारिता पेसा अपनाइरहेका केशु विरहीले पौष ३ गते सामाजिक संजाल (फेसबुक) मा ‘आफूले कखरा सिकेको विद्यालयको शैक्षिक उन्नयनमा केही सहयोग गरौँ’ भन्दै एउटा सानो स्टाटस लेखेर पोस्ट गरे । स्रष्टासमेत रहेका विरहीको उक्त स्टाटसले राम्रो प्रतिक्रिया प्राप्त गर्‍यो । त्यसपछि उनी हौसिएर ‘श्रीजलकन्या आधारभूत विद्यालयका पूर्व विद्यार्थीहरू’ नामक समूहको निर्माण गरे । 

अभियान संयोजक : केशु विरही

पूर्व विद्यार्थी मात्र भन्दा अरूलाई जोड्न केही कठिन हुने ठानेर उनले उक्त समूहलाई परिमार्जन गरेर ‘सहयोगी हातहरू श्री जलकन्या आधारभूत विद्यालय आठराई –२ खाम्लालुङ–तेह्रथुम’ नाममा परिवर्तन गरे । विद्यालय र आठराईसँग सम्बन्धित रहेका महानुभावहरूलाई जोड्दै गए । र अरूलाई पनि आफ्नो आइडीमा भएका महानुभावलाई जोड्न आग्रह गरे । समूहमा जोडिन त्यति रुचि नदेखाए पनि आफूहरूको पूर्ण सहयोग रहने प्रतिबद्धता दिए । 


उनको सुरुमा पूर्व विद्यार्थीहरूलाई मात्र सहभागी गराएर २ लाख जतिको एउटा अक्षयकोषको निर्माण गर्ने लक्ष थियो । काठमाडौँमा रहेर आफ्नै व्यवसाय संचालन गरिरहेकी पूर्व विद्यार्थीसमेत रहेकी सीता खनालसँग कुराकानी भए पछि भने अभियानले व्यापकता पाएको अभियानकर्ता विरही बताउँछन् । 


उनी भन्छन् “सुरुमा पूर्व विद्यार्थीहरूलाई मात्र जोडेर २ लाख जतिको एउटा अक्षय कोष बनाउने उद्देश्यकासाथ काम सुरु गरिएको थियो तर सीता बहिनीसँग सम्पर्क भएपछि यसले व्यापकता पायो । उहाँले दाइ अलि ठूलो गर्नु पर्छु, हामी पनि छौँ भनेपछि न्यूनतम ५ लाख जतिको एउटा सामूहिक अक्षय कोष निर्माण गर्ने कार्यमा जुटिरहेका छौँ ।’

यस क्रममा उनको विद्यालयको पूर्व प्रधानाध्यापक काशीनाथ खनाल र बेलबारीमै रहेर आफ्नै स्वास्थ्य व्यवसाय संचालन गरिरहेका रामप्रसाद गिरीसँग पनि सल्लाह भइसकेको थियो । 

 त्यस पछि अभियानलाई सफल बनाउन ११ सदस्सीय समन्वय समिति र १० सदस्सीय सल्लाहकार समितिसमेत निर्माण गरियो । समितिमा काठमाडौँ उपत्यकाबाट दुई जना, प्रवासबाट ३ जना, तराई खण्डबाट चार जना र आठराईबाट तीन जना गरेर ११ सदस्सीय समन्वय समितिको निर्माण भएको छ । 

उक्त अभियानको माध्यमबाट जलकन्या आधारभूत विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थी, पूर्व शिक्षक तथा दोरपलाई माया गर्ने महानुभावहरूसँग जोडिने अवसर मिलेको पूर्व विद्यार्थीसमेत रहेकी सीता खनालको अनुभव रहेको छ । अभियानकी सचिवसमेत रहेकी खनाल एक सफल व्यवसायी पनि हुन् ।

लामो समयदेखि काठमाडौँमा प्रि–म्याक्स इन्टरप्राइजेज नामको व्यावसायिक कम्पनी संचालन गरिरहेकी उनी यस अभियानले विद्यालयको शैक्षिक उन्नयनमा सहयोग त गर्छ नै अझ यसले पुराना र नयाँ विद्यार्थीबिच पुलको काम गर्ने बताउँछिन् । उनी यो अभियानका माध्यमबाट विद्यालयसँग जोडिन र आवश्यक परेको खण्डमा विद्यालयलाई सहयोग गर्नसमेत सहज हुने बताउँछिन् ।


पूर्व विद्यार्थी तथा खाम्लालुङ, दोरपलाई मायागर्नेहरूबाट सङ्कलन गरिँदै आएको ‘सहयोगी हातहरू’ नामक सामूहिक अक्षय कोषको ब्याजबापत वार्षिक रूपमा प्राप्त हुने रकमले विद्यालयको शैक्षिक उन्नयनमा सहयोगी पुग्ने विद्यालय व्यवस्थापन समितिका वर्तमान अध्यक्ष भीमबहादुर लिम्बू बताउँछन् ।     

न्यूनतम रूपमा पाँचलाख बराबर अक्षय कोष खडा गर्ने उद्देश्यका साथ अभियान थालिए पनि सहभागिता उत्साहजनक भएकोले सोभन्दा माथि रकम उठ्नेमा आफूहरू ढुक्क रहेको पूर्व विद्यार्थी रामप्रसाद गिरी बताउँछन् । 

बेलबारीमा लामो समयदेखि ‘गिरी मेडिकल’ संचालन गर्दै आएका अभियानका कोषाध्यक्षसमेत रहेका गिरीले पहिलो चरणको यो कार्यक्रम सकिए पछि पनि आफूहरूको विद्यालयलाई सहयोग गर्ने योजना रहेको बताउँछन् ।

उनी भन्छन् ‘पहिलो चरणमा अहिलेलाई सकेसम्म पाँचलाख भन्दा ठूलो अक्षय कोषको निमार्ण गर्ने लक्ष छ त्यस पछि पनि हाम्रो सहयोग रहिरहने छ ।’


सामूहिक अक्षय कोषको परिचालन विधि के हुने ?                     

पूर्व विद्यार्थी, पूर्व शिक्षक तथा खाम्लालुङलाई माया गर्ने महानुभावबाट प्राप्त भएको रकमलाई दाताकै सल्लाह र परामर्शमा प्रयोग गरिने अभियानका संयोजक केशु विरही बताउँछन् । यसका लागि विद्यालयकै नाममा मुद्धति खाता खोलेर संचालन ल्याइले अभियानको लक्ष रहेको उनी बताउँछन् । 

केही महानुभावहरूबाट भने कुनै सामाजिक संस्थामार्फत दाताकै निगरानीमा वार्षिक रूपमा रकम वितरण गर्ने विधि तयार गर्नु पर्छ भन्ने विचार पनि प्रकट भएका छन् । तर विद्यालय संचालनमा रहेको स्थान (दोरप)मा कुनै भरपर्दो र दर्तावाल संस्था नहुँदा संस्थामार्फत वितरण गरिने विधि त्यति प्रभावकारी नहुने देखिएको छ ।

नयाँ संस्था दर्ता गरेर जाँदा पनि वार्षिक रूपमा संस्थाको बैठक, नवीकरण लगायतका झन्झटमा फसिने हुँदा विद्यालयलाई नै बढी जवाफदेही बनाउने गरी ‘सामूहिक अक्षय कोष छात्रवृत्ति वितरण कार्यविधि’ (विनियम) तयार पारेर वितरणको व्यवस्था मिलाउनु पर्ने अभियानका सल्लाहकारसमेत रहेका पूर्व प्रधानाध्यापक पुन्यप्रसाद खनालको विचार रहेको छ । 

व्यक्ति वा सामाजिक संस्थामार्फत वितरण गर्नु नराम्रो नभए पनि यो विधि केही झन्झटिलो हुने हुँदा विद्यालयलाई जबाफदेही बनाएर वितरणको व्यवस्था गर्नु पर्ने उनको मत रहेको छ ।               

कोषबाट प्राप्त व्याजवादको रकमले कहाँ खर्च हुने ?


विद्यालयमा संचालनमा ल्याइने सामूहिक अक्षय कोषबाट वार्षिक रूपमा प्राप्त हुने ब्याजबापतको रकमको १५–२० प्रतिशत रकम वार्षिक रूपमा कोषमै जम्मा हुँदै जाने र बाँकीलाई १०० प्रतिशत मानेर छात्रवृत्तिमा ७० प्रतिशत रकम छात्रवृत्ति र ३० प्रतिशत रकम शैक्षिक सामग्री खरिदमा प्रयोग गर्ने उद्देश्य लिइएको छ । 

छात्रवृत्ति र शैक्षिक सामग्री वितरणलाई पनि भरपर्दो र पारदर्शी बनाउन त्यसको छुट्टै कार्यविधि तयार पारेर वितरणको व्यवस्था मिलाउनु पर्ने अभियानका प्रवास विभाग संयोजक लक्ष्मी खनाल बताउँछन् । सहभागिता उत्साहजनक रहेको, सोचेभन्दा पनि राम्रो प्रतिबद्धता आएकोले त्यसलाई सही तरिकाले व्यवस्थापन गर्ने काममा स्थानीय समुदायको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहने उनको मत रहेको छ । 

राम्रो कामको सुरुवात भएकोले यसलाई सफल पार्न आफूहरू पनि लागिरहेको पूर्व प्रधानाध्यापक काशीनाथ खनाल बताउँछन् । अभियानका सल्लाहकारसमेत रहेका खनाल अभियान विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि कोषे ढुङ्गा साबित हुने आसा व्यक्त गर्छन् । 

३ लाखको हाराहारीमा प्रतिबद्धता प्राप्त                               

अभियान सुरु गरेको १ महिना पुग्न केही दिन बाँकी नै छ । यस अवधिमा अभियानमा प्रतिबद्धता जनाउनेको सङ्ख्या उल्लेख्य मात्रामा रहेको देखिएको छ । पौष ३ गतेदेखि आज (पौष २७) गते सम्ममा ३ लाखको हाराहारीमा सहयोगको प्रतिबद्धता प्राप्त भएको र चाँडै सामूहिक खाता खोलेर ती प्रतिबद्धता बराबरको रकम खाता जम्मा गर्न आग्रह गरिने योजना रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्