नोबेल मेडिकल कलेजविरुद्ध विद्यार्थीहरूको आन्दोलन जारी


मोरङ, २७ पौष । अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीहरूलाई कलेज प्रवेशमा रोक लगाए पछि सुरु भएको नोबेल मेडिकल विरुद्धको विद्यार्थीको आन्दोलन केही दिनदेखि निरन्तर रूपमा चलिरहेको छ । यस क्रममा विद्यार्थीहरूले आज पनि नोबेल मेडिकल कलेज अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।

मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीहरूलाई भर्ना नगर्न र पठनपाठन नगर्न निर्देशन दिएको भन्दै विद्यार्थीहरूले प्रदर्शन चर्काएका हुन् ।

विद्यार्थीको यो आन्दोलनलाई विभिन्न संघसंगठनले समर्थन गरे पछि आन्दोलन झन् सशक्त बन्दै आएको छ । विद्यार्थीले मङ्गलवार अस्पताल प्रवेश गर्ने मूल गेटमै टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरूले कलेज प्रशासनविरुद्ध नाराबाजीसमेत गरेका छन् । 

अतिरिक्त शुल्क नबुझाएको भन्दै कलेज प्रवेशमा नै रोक लगाएकाले आफूहरू पीडित बनेकाले कलजेबिरुद्ध आन्दोलनमा उत्रनु परेको आन्दोलनरत विद्यार्थीले बताएका छन् । 

कलेजमा रहेको एक सय विद्यार्थीको कोटामा भर्ना भएका ९६ विद्यार्थीमध्ये नौ जना भारतीय, १० जना छात्रवृत्तिका र पाँच जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई पढाइरहेको तर आफूहरूलाई अतिरिक्त शुल्क नबुझाएको भन्दै कलेज प्रवेशमा नै रोक लगाएको उनीहरूको आरोप रहेको छ । 

प्रतिक्रिया दिनुहोस्