११ बुँदे घोषणा पत्र पारित गर्दै फोनिज प्रदेश १ को महाधिवेशन सम्पन्न


मोरङ, २९ पौष । ११ बुँदे ‘पथरी घोषणापत्र’ पारित गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्रदेश १ महाधिवेशनले सम्पन्न भएको छ । मोरङको पथरीमा बिहीवार सम्पन्न दोस्रो प्रादेशिक महाधिवेशनले सन्तवीर लामाको अध्यक्षतामा २१ सदस्सीय कार्यसमितिको चयन गरेको छ । 


मोरङको पथरीमा बिहीवार सम्पन्न दोस्रो प्रादेशिक महाधिवेशनबाट लामा सर्वसम्म रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।समितिका उपाध्यक्षमा राजेन्द्र दुष्ट र अप्सरा समाल, महासचिवमा सुसन राई निर्वाचित भएका छन् । समितिको सचिवमा सन्देश सुब्बा र प्रदीप चौधरी तथा कोषाध्यक्षमा प्रेम देवान निर्वाचित भएका छन् ।

साथै कार्यसमिति सदस्यहरूमा खगेन्द्र कुमार राई (अर्जून कुलुङ राई), वसन्त पालुङ्वा, मोहन तामाङ, सन्दीप राई, ब्रह्मलाल हजारी, सुप्रिया राई, शर्मिला राई, प्रमीला श्रेष्ठ, विजय धिमाल, अतीत योङहाङ, राजन साम्पाङ, ज्ञानु केदेम, एलबी लावती र बाबुराम मुडियारी रहेका छन् ।

साथै महेन्द्र मादेनको संयोजकत्वमा तीन सदस्सीय लेखा समिति र वीरबहादुर पापोको संयोजकत्वमा अनुशासन समितिसमेत महाधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।

प्रदेश १ को नाम पहिचान र सामर्थ्यको आधारमा ‘लिम्बुवान–किरात’ वा ‘किरात–लिम्बुवान’ राख्न माग गर्दै समापन भएको महाधिवेशनमा प्रदेश १ का १४ जिल्लाबाट १०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्