प्रचण्डले दायर गरेको रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुँदै


काठमाडौँ, २९ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहालले दर्ता गरेको रिट निवेदनको आज सुनुवाइ हुँदै छ । आफ्नो पार्टीबाट निर्वाचित भई अर्को दलमा सामेल भएका स्थानीय तहका जनप्रतिनिधिलाई गरिएको कारबाही सदर गरी पाउनका लागि सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो । 

पार्टी अध्यक्ष प्रचण्डले दायर गरेको रिटमा अन्तरकालीन आदेश खारेजीको माग गरिएको छ ।आफ्नो पार्टीको तर्फबाट निर्वाचित भई अन्य दलमा सामेल भएको भन्दै माओवादी केन्द्रले स्थानीय तहका केही जनप्रतिनिधिलाई कारबाही गरेको थियो । पार्टीकै निर्णयअनुसार निर्वाचन आयोगले उनीहरूको पद रिक्त भएको घोषणा गरेको थियो ।

तर सर्वोच्चले भने आयोगको निर्णय कार्यान्वयन नगर्न नगराउन निर्देशन दिए पछि पार्टीको तर्फबाट प्रचण्डले अन्तरकालीन आदेश खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतका न्यायाधीशहरू दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा सो मुद्दाको पेसी तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस्