बेलबारीमा रहेको सृजना घरमा स्रष्टासँग साक्षात्कार कार्यक्रम सम्पन्न


बेलबारी, २९ पौष । बेलबारीमा रहेको सृजना घरले आज (बिहिवार) स्रष्टासँग साक्षात्कार कार्यक्रम सम्पन्न गरेको । साहित्य र कलाका क्षेत्रमा काम गर्दै आएको सृजना घर नामक संस्थाले पत्रकार एवम् लेखक वसन्त बस्नेतलाई साक्षात्कार गराएको थियो ।

 
संस्थाकै प्राङ्गणमा सञ्चालन गरिएको उक्त कार्यक्रममा नाट्य क्षेत्रमा लामो समयदेखि काम गरिरहेका घिमिरे युवराज, फाइन प्रिन्टका अजित बराल, स्रष्टा एवम् राजनीतिकर्मी ईरान राई, स्रष्टा शिव प्रकाशको सहभागिता रहेको थियो । साथै सङ्गीतकार भीम बस्नेत, कलाकारहरू सुलिन पोखरेल र अनुप बराल, राजनीतिकर्मी महेन्द्र सुवेदी, बेलबारी जेसिसका अध्यक्ष नवराज सुवेदी लगायतको उपस्थिति रहेको थियो ।   

पाँचथरमा जन्मिएका बस्नेत पछिल्लो समयमा काठमाडौँमा रहेर पत्रकारिता साथमा साहित्य साधनामा तल्लीन रहेका छन् । साक्षात्कार कार्यक्रममा उनले आफ्नो लेखन यात्रा र महाभारा उपन्यास लेखनका क्रमका अनुभूतिलाई सहभागीसामु बाँडेका थिए ।

छुटै मौलिक नाम जुराउन सफल बस्नेतले ‘महाभारा’लाई प्रेमको लेपन लगाएर अझ सुन्दर बनाउने प्रयास गरेका छन् । यसअघिको उपन्यास ‘मधेशमाथि’मा मधेशको कथा लेखेका बस्नेतले यस कृतिमा भने एउटी किराँत समुदायमा हुर्किएकी युवतीको सफल प्रेमकथालाई आफूले शब्दका माध्यमबाट बुन्ने प्रयास गरेको बताएका छन् ।  

कार्यक्रममा रेडियो बेतनाकी कार्यक्रम सञ्चालिका करुणा बस्नेतले लेखकका जीवनसँग जोडिएका विषय बस्तुमा आधारित भएर अन्तरङ्ग कुराकानी गरेकी थिइन् ।                                     

प्रतिक्रिया दिनुहोस्