टिपर दुर्घटनामा परेर धनकुटामा चालक र सहचालकको मृत्यु


धनकुटा, ३० पौष । टिपर दुर्घटनामा परेर धनकुटामा चालक र सहचालकको मृत्यु भएको छ । बालुवा लोड गरेर गन्तव्यतिर जाँदै गरेको टिपर कोसी लोक मार्गअन्तर्गत धनकुटा नगरपालिका–२ नाग ढुङ्गामा आज (शुक्रवार) बिहान दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएका छ । 

धनकुटा ट्राफिक प्रहरी प्रमुख सई (नायव निरीक्षक) लोकबहादुर दियालीले धनकुटाबाट तेह्रथुमको वसन्तपुरतिर जाँदै गरेको प्रदेश ०३–००१ क ०५४९ नम्बरको टिपर बिहान ४ः४५ बजेतिर दुर्घटना हुँदा टिपरका चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको बताए । नायव निरीक्षक दियालीले मृतकमध्ये चालक भुवन मगरको मात्रै सनाखत भएको छ । मृतकमध्ये सहचालकको भने पहिचान खुल्न सकिरहेको छैन ।

दुवै जनालाई टिपरले किचिरहेको अवस्थामा फेला पारिएको र शव बाहिर निकाल्ने प्रयास भइरहेको  छ भने घुम्ती सडक पार गर्ने क्रममा टिपर आफै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले अनुमान गरिएको छ । 

बालुवा लोड गरिएको टिपर सडकबाट लगभग २५ मिटर तल खसेकोले घटनास्थलबाट टिपरलाई बाहिर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण भने प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्