बेलबारीमा महिला हिंसाविरुद्धको सातदिने आत्मरक्षा तालिम संचालन


बेलबारी, ३० पौष । मोरङको बेलबारीमा महिला हिंसा तथा बलात्कारविरुद्धको सात दिने आत्मरक्षा तालिम सुरु भएको छ । केआइफ कुरोमय मार्सल आर्टस बेलबारीको आयोजना र नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको तालिमको नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले आज एक कार्यक्रमबिच उद्घाटन गरेका छन् । 

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले महिला हिंसालाई न्यूनीकरण गर्न सबैको भूमिका रहने बताउँदै यस्ता तालिमले हिंसा हुन नदिने र भइगए पनि त्यसबाट बच्न सहयोग पुर्‍याउने आसा व्यक्त गरे । नगरप्रमुख सुवेदीले तालिममा सहभागी किशोरीहरूलाई सबैले बेलबारी पहिचान र बेलबारीको सानलाई माथि उठाउने काम गर्नु पर्ने बताए ।

बेलबारी –३ मा रहेको मोरङ नेत्रहीन सङ्घको सभा हलमा सञ्चालन भएको तालिमको उद्घाटन सत्रमा बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली, महिला अधिकार मञ्च प्रदेश नं १ का अध्यक्ष सीता सुवेदी, मोरङ नेत्रहीन सङ्घका अध्यक्ष सीता बराइली, केआइएफ कुरोमय मार्सल आर्टसका जिल्ला सदस्य हेमन्त सुवेदी लगायतको सहभागिता रहेको थियो । 

सात दिनसम्म चल्ने तालिमको सहजीकरण भने केआइएफ कुरोमय मार्सल आर्ट सङ्घ प्रदेश नं १ का केन्द्रीय सदस्य एवम् प्रमुख प्रशिक्षक प्रकाशमान सिंह बस्नेतको रहने आयोजक संस्थाका अध्यक्ष शीतल रायले जानकारी दिइन् । 


प्रतिक्रिया दिनुहोस्