स्वास्थ्यका मापदण्ड पालना गरेर मात्र माघी मनाउन प्रधानमन्त्री देउवाको आग्रह


काठमाडौँ, १ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्यका मापदण्ड पालना गरेर मात्र माघी पर्व मनाउन आग्रह गरेका छन् । माघे सङ्क्रान्ति अर्थात् माघीको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन् ।

प्रधानमन्त्री देउवाले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा माघीको अवसरमा सुख, शान्ति, दीर्घायुको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारी नियन्त्रणका लागि अवलम्बन गरेका हालसम्मका प्रयास प्रभावकारी देखिए पनि कोभिड–१९ को नयाँ स्वरूपले अझै जोखिम बढाएकाले सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री देउवाले हाम्रा संस्कृति र संस्कारमा आफ्ना विशेषता रहेको उल्लेख गर्दै विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक विशेषताका उदाहरण भएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेका छन् ।आजको दिनलाई थारु समुदायमा माघी र अन्य समुदायमा माघे सङ्क्रान्तिका नामले चिनिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्