राष्ट्रपति भण्डारी म्यान्मार भ्रमण सम्पन्न पछि जापान


काठमाडौँ, ३ कात्तिक । राजकीय भ्रमणका लागि म्यान्मार गएकी राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारबाट सीधैं आइतबार बिहान जापान प्रस्थान गरेकी छन् । म्यान्मारमा गएकी भण्डारी निध्रारित कार्यक्रमअनुसार आइतबार बिहान जापानतर्फ लागेकी हुन् ।

 

राष्ट्रपति भण्डारी जापानी सम्राट नोरुहितोको राज्याभिषेकमा सहभागी हुने कार्यक्रममा म्यानमारबाट थाई एयरवेजको विमान चढेकी राष्ट्रपति भण्डारी आइतबार राति जापान पुग्ने राष्ट्रिय समाचार समितिले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा गत असोज २९ गते म्यानमार गएकी थिइन् । भण्डारी कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीको साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीसँगै म्यान्मार पुगेका थिए ।

राष्ट्रपति भण्डारीले म्यान्मारका राष्ट्रपति मिन्तलगायतसँग भेटवार्ता गरेकी थिइन् । त्यहाँ म्यान्मार र नेपालबिच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर चीको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहोस्