राष्ट्रिय जनगणना २०७८ मा शिक्षक नखटाइने


काठमाडौँ, ३ कात्तिक । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ मा शिक्षक नखटाइने भएको छ । आइतबार पत्रकार सम्मेलन गरेर केन्द्रीय तथ्याङ्क विभागले जनगणनामा शिक्षकहरूलाई नखटाउने निर्णय भएको जनाएको हो ।

गणक, सुपरिवेक्षकमा बेरोजगार युवालाई भर्ना गरिने विभागका जनसङ्ख्या निर्देशक डुण्डीराज लामिछानेले जनाएका छन् । निर्देशक लामिछानेका अनुसार ४३ हजार २७७ गणक र ९ हजारभन्दा बढी सुपरिवेक्षक नयाँ भर्ना गरिनेछ भने उच्च शिक्षा हासिल गरेका स्थानीय बेरोजगार युवाहरूलाई तीन महिनाका लागि गणक र सुपरिवेक्षकका रूपमा भर्ना गर्ने विभागको तयारी छ ।

गणक र सुपरिवेक्षकबाहेक अन्य जनशक्ति भने सरकारी कर्मचारी नै हुनेछन् । सबै गरेर जनगणनामा ५४ हजार ४ सय १३ जना खटिने जनसङ्ख्या निर्देशक लामिछानेले जानकारी दिए । जिल्ला स्तरमा चाहिने गणक जिल्लाकै तथ्याङ्क कार्यालयले भर्ना गर्नेछ ।

२०७८ जेठ २८ गतेदेखि १५ दिनसम्म गणकहरू देशका सबै घरमा खटिएका जनगणना गर्नेछन् । तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को लोगो र नारा पनि सार्वजनिक गरेको छ

प्रतिक्रिया दिनुहोस्