जेफालेको फेदीमा साहित्यिक जमघट


युवराज ठकुरी – केराबारी / ‘रहरहरू भरेर मनको आँखामा घुम्दै घुम्दै आइपुग्छ देशको आँगनमा पर्यटक जतिबेला हरेक साँझ बिहान चुल्ठोमा गुराँस सिउरेर देशले पर्खिरहेको हुन्छ’, पर्देशी पाहुनाहरूको आगमन उदयपुरका कवि जीवन आरोही पर्यटक शीर्षकको कविता पर्यटकीय ठाउँ जेफालेको फेदीमा यसरी प्रस्तुत भएको छ ।

कात्तिक २ गते उत्तरी मोरङको केराबारी–२ बिहीबारेमा पर्यटन र साहित्य जोड्ने अभिप्रायका साथ तिहारको शुभकामना आदानप्रदान, रचना वाचन र रेमिटल्यान्ड उपन्यास माथि अन्तरङ्ग कार्यक्रम सम्पन्न भएको हो ।

जेफाले र बिहीबारे बजारलाई पृष्ठभूमि बनाएर गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि तथा वडा नं.२ का वडा सदस्य दिलिपकुमार ठकुरी, अतिथिहरू महाभारत बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक मनोज अधिकारी, फाइबा आधारभूत विद्यालय प्र.अ राजेन्द्र लिम्बू , शिक्षक राजु खड्का , जेफाले होमस्टेका अध्यक्ष युवराज खड्का, राजेश किराँती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा लीला लिम्बूले गीत प्रस्तुत गर्नुका साथै अन्य स्रष्टाहरू कविन्द्र लिम्बू ,श्रीमन खजुम,लोकेन्द्र मगर ,गजलकार ज्ञानु राई, विशिष्ट अतिथिहरू कवि प्रकाश दिप्साली ,कवि राज माङ्लाक र कवि देवान किराँतीले रचना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उपन्यासकार श्याम सिंघकको उपन्यास रेमिटल्यान्ड माथि उपन्यासकार स्वयम् र कवि राज माङ्लाकले धारणा प्रस्तुत गरेका थिए । जेफालेको फेदीमा पर्यटन र साहित्यलाई जोड्ने अभिप्रायले निरन्तर साहित्यिक कार्यक्रम हुँदै आएको छ । भीम ठकुरीको सभापतित्व र युवराज ठकुरी अज्ञानीको संन्चालनमा भएको कार्यक्रममा यदुनिधी अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्