इतिहासमा कहिल्यै नभएका काम भएको प्रम ओलीको दाबी : नागढुंगा सुरुङमार्गको शिलान्यास


काठमाडौँ, ५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा कहिल्यै नभएको काम आफ्नो सरकारको पालामा भएको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार नागढुंगा सुरुङमार्गको शिलान्यास कार्यक्रममा १६०० किलोमिटर कालोपत्रे सडक, २४३ पक्की पुल र दुई सय हाराहारी झोलुङ्गे पुल बनेको जनाउँदै आफ्नो सरकारको पालामा इतिहासमा कहिल्यै नभएका काम भएको दाबी गरेका हुन ।

शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल सुरुङमार्गको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । टोखा–छहरे, बेत्रावती –स्याफ्रुवेशी सुरुङमार्गलाई अगाडि बढाउन लागिएको प्रधानमन्त्रीले बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा यो सुरुङमार्गबारे अध्ययन गर्ने समझदारी भएको थियो ।
प्रधानमन्त्री ओलीले समयमै काम सक्ने विश्वास व्यक्त गरे गर्दै ठेकेदार कम्पनीलाई पनि समयमै काम सम्पन्न होस् भनेर सचेत गराएका थिए । नेपालभित्र काम जिम्मा लिएर समयमा नगर्ने देखिएको भए पनि जापानी कम्पनीले समयमै काम गर्ने गरेको अनुभव रहेको बताए ।

जेष्ठ नागरिकको स्वास्थ्य बिमा, सामाजिक सुरक्षा कोष लगायतका कार्यक्रमको उल्लेख गर्दै, आफ्नो सरकारको पालामा भएको काम बारे जानकारी गराउँदै उनले भने ‘हामीले बाटाहरू मात्र बनाइरहेका छैनौँ । एयरपोर्टहरू बन्दै छ । फास्ट ट्रयाक बन्दै छ, हुलाकी राजमार्ग सकिनै लागेको छ,’।

प्रधानमन्त्री ओलीले सरकारले दूरगामी असर पार्ने कदमहरू चलिरहेको बताएका छन् । पानी जहाजको कुरा गर्दा कतिपयले खिल्ली उडाए पनि अहिले कोलकाताबाट विराटनगर नजिकसम्म पानी जहाजमा सामान आउन थालेको प्रधानमन्त्री ओलीले दाबी गरे । सप्तकोसीमा चलेको सानो पानी जहाज भए पनि भन्दै २० मिनेटमा सुनसरीबाट भोजपुर पुग्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्