प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्न जसपाको सुझाव


मोरङ, १० फागुन । जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नं १ को नाम पहिचानका आधारमा राखिनु पर्ने आफ्नो धारणालाई पुन : दोहोर्‍याएको छ । जसपा प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङले एक विज्ञप्ति जारी गरी प्रदेश १ को नामकरण पहिचानको आधारमा हुनुपर्नेपार्टीको धारणालाई दोहोर्‍याउँदै प्रदेशको नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ प्रस्ताव गरेको छ । 

चाम्लिङद्वारा आज (मङ्गलवार) जारी विज्ञप्तिमा भनिएको छ ‘मौलिक सभ्यता, ऐतिहासिक राजनीतिक पृष्ठभूमि, पहिचानको मागलाई सम्बोधन गर्दै प्रदेश नं १ लाई ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ नामकरण गर्नुपर्दछ ।’ 

नामकरणका सम्बन्धमा २०७७ साल असोज २३–२४ गतेको जसपाको बैठकको निर्णयलाई स्मरण गराउँदै प्रदेश नं १ को नामकरण पहिचानकै आधारमा हुनुपर्ने पार्टीको धारणालाई प्रस्ट पारेको हो । 

हाल प्रदेशको नामकरणबारे भइरहेको बहस र छलफलले राजनीतिक सरगर्मी ल्याएको भन्दै जसपाले पछिल्लो राजनीतिक घटनाक्रमहरूलाई स्वागतयोग्य भन्दै गम्भीरताका साथ लिएको पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्