सुन्दरहरैचामा अवैध औषधी बिक्री गर्ने पसलका सञ्चालकसहित खरिद गर्ने ७ जना पक्राउ


सुन्दरहरैचा, १० फागुन । मोरङको सुन्दरहरैचा नगरपालिकाको नेती फर्मा र डे–ड्रिम मेडिसिन सेन्टरका सञ्चालक अवैध औषधीसहित प्रहरीले पक्राउ परेको छ । चिकित्सकको प्रेस्क्रिप्सन बिना अवैधऔषध अनधिकृत विक्री वितरण गर्ने वडा नं। १० स्थित विराटचौकको उक्त औषधी पसलका सञ्चालकलाई सोमबार पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार पसलका सञ्चालक ४५ वर्षीय सुशील काफ्ले र उनका श्रीमती ३२ बर्षीया गोमा कार्की पक्राउ परेका छन् । सोही पसलबाट औषध औषध खरिद गर्ने ७ जना लागुऔषध प्रयोगकर्तालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुन्दरहरैचा वडा नं। १ का २३ वर्षीय सनम खवास, वडा नं।१० का ३० वर्षीय अरुण राई, ३५ वर्षीय सनम तामाङ , वडा नं। ९ का २४ वर्षीय सुवास राई, २२ वर्षीय जुसन सुनाम, ३१ वर्षीय निमेस परियार र ३४ वर्षीय अनुप खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार लागुऔषध विक्री वितरण भइरहेको गोप्य सूचनाको आधारमा अनुसन्धानद्वारा नेति फर्मा र डे–ड्रिम मेडिसिन सेन्टरमा बढी युवाहरूको आवतजावत तथा औषधी खरिद गरिएको पाइए पछि करिब ७ दिनको निगरानी पश्चात् सोमबार ७ जना युवाहरू पक्राउ परेको हो ।

सोमबार बिहान करिब १०ः३० बजे नेति फर्मा र डे–ड्रिम मेडिसिन सेन्टर देखी अवैध औषध खरिद गरेर गइरहेको बेला करिब ३०० मिटर क्षेत्रको दुरीमा उक्त युवाहरू पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक सरोज खनालले बताए । उक्त युवाहरू पक्राउ परे पछि नेति फर्मा र डे–ड्रिम मेडिसिन सेन्टरमा अवैध रूपमा औषधी अनधिकृत विक्री वितरण हुन्छ भन्ने प्रमाण भए पछि खानतलासी गर्दा भारी मात्रामा अवैध औषधी बरामद भएको खनालले बताएका छन् ।

१ नं। प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको संयुक्त टोलीले नेति फर्मा र डे–ड्रिम मेडिसिनमा खानतलासी गर्दा ४४ हजार ३ सय सत्तरी स्पासपेन चक्की, १७ हजार ६ सय २० एन्टिकफ चक्की, १८ हजार ९ सय २३ नेउरिन चक्की, प्रि–जेट सेवेन्टिफाइप १२ सय चक्की, १४ हजार ६ सय एपाबालिन चक्की बरामद गरेको प्रहरी निरीक्षक खनालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्