अदालती प्रक्रिया पालना नगर्दा गुम्यो रायमाझीको सांसद पद


मोरङ, ११ फागुन । अदालती प्रक्रियाको पालना नगर्दा लुम्बिनी प्रदेशका एक जना सांसदको पद नै गुमेको छ । यसरी पद गुमाउनेमा लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझी रहेकी छिन् ।

 

लुम्बिनी प्रदेशकी कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रीसमेत रहेकी रायमाझीले अदालतले दिएको तारिख गुजारेका कारण सांसदबाट पदमुक्त हुनुपरेको छ ।

 

रायमाझीसहित सन्तोषकुमार पाण्डेय, विजय यादव र कल्पना पाण्डेलाई जनता समाजवादी पार्टी (जसपा)ले दल त्यागको कारबाही गर्दै पदमुक्त गर्न प्रदेश सभामुखलाई पत्र पठाएको थियो । कारबाहीविरुद्ध सर्वोच्चमा उनीहरूले उजुरी दिएका र अदालतले कारबाही प्रक्रिया नपुगेको भन्दै पदबाट नहटाउनु भन्ने अन्तरिम आदेश दिएको थियो ।

 

तर सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको तारिख गुजारेका कारण उनलाई पदबाट नहटाउनु भन्ने अन्तरिम आदेश निष्क्रिय भएसँगै उनको सांसद पद पनि स्वतः गुमेको हो । संसद् पद गुमे पनि उनले सरकारबाट भने हटिहाल्नु पर्ने छैन । अब उनी बढीमा ६ महिनासम्म मात्रै मन्त्री पदमा बहाल हुन पाउँछिन् ।

प्रतिक्रिया दिनुहोस्