लोहोन्द्रा दोहन रोकिएन, स्थानीय आन्दोलित : मापदण्ड विपरीत उत्खनन


बेलबारी, १२ फागुन । लोहोन्द्रामा मापदण्डभन्दा बढी उत्खनन भएपछि स्थानीयहरू आन्दोलित भएका छन् । बेलबारी ४ र सुन्दरहरैँचा नगरपालिका वडा न. १ को बिचमा पर्ने लोहोन्द्रा खोलामा मापदण्ड भन्दा बढी उत्खनन भएको पाइएको हो ।

प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आइइ)ले १.४ मिटर अर्थात साढे चार फिट गहिराइसम्म खन्न सकिने बताइए पनि उक्त स्थानमा १० देखि १२ फुट सम्म खनिएको पाइए पछि स्थानीयहरू झनै आन्दोलित भएका छन् । लोहोन्द्रा गहिरिएको भन्दै बेलबारीले यसअघि खोला ठेक्का नलगाउने निर्णय गरे पनि छिमेकी पालिका सुन्दरहरैँचाकातर्फबाट भने खोला ठेक्का लगाएको थियो । तर नदीबाट मापदण्ड विपरीत खोलाजन्य सामग्री निकाले पछि खोला भित्रै बडेमानका खाँडलहरु बनेका छन् । बालुवा गिटी निकाल्ने क्रममा १०–१२ फिट गहिराइसम्मका खाडल बनेका देखिन्छन् । डेकेदारले जेसिवि नै लगाएर उक्त स्थानबाट बालुवा तथा मिसगिटी निकाल्ने गरेको बताएका छन् । यसरी खोलाबाट मापदण्ड विपरीत खोलाजन्य सामग्री निकाल्दा पानीको श्रोत त सुक्छ नै सिचाइँका लागि बनाइएको पैनीलाईसमेत क्षति पुग्ने देखिएकोले आफूहरूले बालुवा गिटी निकाल्ने काम बन्द गरिदिएको स्थानीय बताउँछन् ।

बेलबारी नगरपालिका वडा नं ४ र सुन्दरहरैँचा नगरपालिका वडा न. १ को बिचमा पर्ने लोहोन्द्रा खोलामा उत्खनन हुँदा बेलबारीतर्फ रहेको लोहोन्द्रा तथा बेतना सिचाई योजना र सुन्दरहरैँचातर्फ रहेको विरान कोरिया डाँगी सिचाई योजना गरेर दुईवटा सिचाई योजना रहेका छन् । यी दुवै सिचाइ योजना धराप परेको स्थानीय बताउँछन् । लोहोन्द्रा तथा बेतना सिचाई योजनाले बेलबारीका वडा नं ४, ५ र ६ हुँदै केरौन लगायतका क्षेत्रमा सिचाई सेवा उपलब्ध गराउँदै आएको छ भने विरान कोरिया डाँगीले योजनाले सुन्दरहरैँचा नगरपालिका वडा नं १ र ग्रामथानका ६ र ७ नं वडालाई सिचाई सेवा दिँदै आएको छ ।

मापदण्ड विपरीत खोला उत्खननले ती दुवै योजना धरापमा परेको भन्दै स्थानीयहरूले सो क्षेत्रबाट गिटी बालुवा निकाल्न दिएका छैनन् । साथै खोला उत्खनन कार्यले दुवै सिचाइ योजनाहरू धरापमा परे पछि स्थानीयले खोला विनाश कार्य रोकी नहर सुरक्षा गरी पाउँ भन्दै फागुन १० गते जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएका थिए । जिल्ला प्रशासन कार्यालयमा सरोकारवालालाई बोलाएर मापदण्ड मुताविक भए, नभएको नाप जाँच गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार नाप जाँच गर्ने काम भएको छ । उक्त क्षेत्रमा बेलबारीबाट गएका प्राविधिकले आफूहरूले लोहोन्द्रा तथा बेतना पैनीको आसपास बेलबारीतिर रहेको क्षेत्रमा मात्र नापेको, सो क्षेत्रमा नाप्दा १० देखि १२ फुटसम्म खनिएको पाइएको बताएका छन् । सञ्चारकर्मीको टोली त्यहाँ पुग्दा सुन्दररहैँचा र जलउपभोक्ता संस्थाको तर्फबाट भने प्राविधिक पुगेका थिएनन् ।

लोहोन्द्रा तथा बेतना सिचाई जल उपभोक्ता संस्थाका अध्यक्षसमेत रहेका स्थानीय धर्मलाल थारु खोलाको अत्यधिक दोहनले आफूहरू ठूलो मर्कामा परेको बताउँछन् । यसले आफूहरूको पेसा खतरामा परेको उनको भनाइ रहेको छ ।
उत्खननले गर्दा खोलो गहिरिन जाँदा पानीको श्रोतसमेत सुक्न थालेको स्थानीयसमेत रहेकी विरान कोरिया डाँगी सिचाई परियोजनाकी सचिव कल्पना घिमिरे बताउँछिन् । उनी यो कार्य रोकिनु पर्ने उनको विचार रहेको छ । लोहोन्द्रा तथा बेतना सिचाई जल उपभोक्ता संस्थाका प्रमुख सल्लाहकार भक्तबहादुर बस्नेत प्रहरी प्रशासनले पनि पीडित स्थानीयको भन्दा ठेकेदारकै पक्षमा लागेर आफूहरूलाई असहयोग गरेको बताउँछन् ।

उता बेलबारी नगरपालिका वडा नं ५ का अध्यक्ष विश्वबन्धु बस्नेत उत्खननले पैनी तथा बाँधलाई क्षति पुग्ने बताउँदै यसलाई रोक्नु पर्ने बताउँछन् । आइइ गरिएको भन्दा बढी खन्न नपाइने उनको तर्क रहको छ । उनी भन्छन् ‘हेर्दा मापदण्डभन्दा बढी खनिएको प्रस्ट देखिन्छ । यस्तो कार्य तुरुन्त रोकिनु पर्छ ।’ प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनले १.४ मिटर अर्थात् साढे चार फिट गहिराइसम्म खन्न सकिने बताएको क्षेत्रमा १० देखि १२ फुट सम्म खनिनुलाई प्राकृतिक सम्पत्ति माथिको दोहनको गतिलो उदाहरणको रूपमा लिन सकिन्छ । प्रकृति माथिको दोहन कदापि सह्यै हुँदैन । यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्