सुन्दररहैँचामा अवैधानिक औषधी बिक्री गर्ने फार्मेसी सिल, सञ्चालक प्रहरीको नियन्त्रणमा


बेलबारी, १२ फागुन । मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेका फार्मेसीले अवैधानिक औषधी बिक्री गरेको पाइएको छ । अनुगमनको क्रममा अवैधानिक औषधि विक्री गर्ने गरेको फेला परे पछि सुुन्दरहरैँचामा १० मा रहेको नेती फार्मेसीमा प्रहरीले सिल गरेको छ ।

साथै डाक्टरको पूूर्जा बिना अवैधानिक औषधिहरू बिक्री गरेको आरोपमा प्रहरीले पसल सञ्चालकलाई पनि नियन्त्रणमा लिएको छ । औषधी व्यवस्था विभाग विराटनगर, इलाका प्रहरी कार्यालय बेलबारी र विराटचोकको टोलीले हिजो दिउँसो छापा मारी नेती फार्मेसी सञ्चालक सुशील काफ्ले र उनकी श्रीमती पूजा कार्कीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

सो पसलबाट खरिद गरिएको औषधी पटक पटक दुुुव्र्यसनीमा लागेका युवाहरूसँग भेटिने गरेको प्रहरीले जनाएको छ ।
फार्मेसीलाई यसअघि पनि प्रतिबन्धित औषधी नबेच्न भनी पसल सञ्चालकलाई सचेत समेत गराइए पनि त्यस्तो गतिविधि दोहोरिएकाले सञ्चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

दुर्व्यसनीमा लागेका ७ जना युवालाई विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको र उनीहरूको बयानको आधारमा पसलमा छापा हानिएको औषधी व्यवस्था विभागका रहिविक्रम थापाले बताए ।

प्रहरीका अनुसार न्युरिन ७५ नामक औषधी १८ हजार ९ सय २३ चक्की बरामद भएको छ । अपाबासिन ७५ नामक औषधी १४ हजार ६ सय चक्की, स्पासपेन ४४ हजार ३ सय ७० चक्की, एन्टीकोफ नामक औषधी १७ हजार ६ सय २० चक्की र पीआरएफ जेड ७५ नामक औषधी १ हजार २ सय चक्की बरामद भएको छ ।

नियन्त्रणमा लिइएकाहरूलाई औषधी व्यवस्था विभागमा बुझाई कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्