बेलबारीमा बढ्दो लागुऔषधको जोखिम


विजय तामाङ/ रोजन ढकाल / ग्रुप “ए”-

मोरङ ,१२ फाल्गुन । पछिल्लो समय बेलबारीमा लागुपदार्थ सेवन तथा कारोबार बढ्दै गएको छ । नेपालमै लागुपदार्थ चुनौती बनिरहेको बेला, बेलबारीमा पनि हरेक वर्ष प्रयोगकर्ता तथा कारोबार बढ्दै गएको इलाका प्रहरी कार्यालय बेलबारीको तथ्यांकले देखाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक सरोज खनालका अनुसार २०७६/७७ मा २१ वटा लागूऔषध दुर्व्यसन तथा कारोबारको मुद्दा दर्ता भएको थियो । जसमा ३६ पुरुष र १ महिला गरी ३७ जना पक्राउ परेका थिए भने ६ जना फरार रहेका छन् । यसै गरी आर्थिक वर्ष २०७७/७८ मा उक्त मुद्दा बढेर २८ पुग्यो जस्मा ५२ पुरुष, २ किशोरी समातिए भने ५ जना फरार भए । यस आर्थिक वर्षमा भने हालसम्मको विवरण अनुसार १५ वटा मुद्दा दर्ता भएका छन् । जसमा २२ जना पुरुष पक्राउ परेका छन् । प्रहरी निरीक्षक खनालका अनुसार यस वर्ष अझै बढ्ने संकेत देखिएको छ । पक्राउ पर्नेमा अधिकांश १८–३५ वर्ष सम्मका बेरोजगार युवाहरू रहेको खनालले बताए ।

तीन दिन अघि मात्र सुन्दरहरैँचामा पनि फागुन ९ गते सोमबार ४८ लाख रुपैयाँ बराबरको अवैध औषधीसहित २ जना सञ्चालक र ७ जना लागुऔषध प्रयोगकर्ता युवाहरू बेलबारी इलाका प्रहरी कार्यालयले पक्राउ गरेको थियो । पक्राउ परेका लागुऔषध प्रयोगकर्ता १७ देखी ३० वर्षका युवाहरू थिए । बेलबारीमा मात्र नभएर छिमेकी नगरपालिका तथा गाउँपालिकामा पनि लागुऔषध कारोबार उस्तै बढ्दो देखिन्छ । बढ्दो लागुऔषध तथा अवैधऔषधी कारोबारको सिकार, अधिकांश बेरोजगार र गरिबी रेखा भन्दा मुनिका युवा युवतीहरू भइरहेका छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार धेरै प्रयोग हुने लागुऔषधमा भारतबाट आयातित ब्राउन सुगर, कोरेस, एभिल, फेन्सिडोल लगायतका लागू औषधहरू छन् भने नेपालमै उत्पादित गाँजा, अफिम बढी प्रयोग हुने देखिएको छ।लागुऔषधले जीवनको उर्वर समयको विनाश गरिरहेको छ भने युवाहरूले अकालमा नै ज्यान गुमाई रहेका छन् । साथै सामाजिक सुरक्षामा पनि चुनौती थपिएको छ । यसलाई नियन्त्रण गर्नु सबै नागरिक सचेत हुनु अनिवार्य छ । दुर्व्यसनी एक बिरामी हो उपचार गर्नै पर्छ तर लागुऔषध कारोबारीको अन्त्य गर्न प्रहरीसँगै आमनागरिक जुट्न अनिवार्य छ ।

प्रतिक्रिया दिनुहोस्