रुसी आक्रमण : युद्ध सुरु भएको पहिलो दिन युक्रेनी सैनिकसहित १३७ जनाको मृत्यु


काठमाडौँ, १३ फागुन । रुसको सैन्य आक्रमणका कारण कम्तीमा १३७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । बीबीसीले रुसको सैन्य आक्रमणबाट युक्रेनी सैनिकसहित कम्तीमा १३७ नागरिकको मृत्यु भएको जनाएको छ ।

युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीलाई हवाला दिँदै बीबीसीले यो तथ्याङ्क सार्वजनिक गरेको हो । एक आदेशमार्फत अनिवार्यरुपमा युक्रेनले सेनामा भर्ती भएका र रिजर्भमा रहेका सैनिकलाई फिर्ता बोलाएको छ । राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीद्वारा जारी यो आदेश ९० दिनसम्म प्रभावकारी रहने बताइएको छ ।

त्यस्तै युक्रेनको सीमा सुरक्षा सेवा (डीपीएसए) ले १८ देखि ६० वर्ष उमेर समूहका सबै पुरुषलाई देश छाड्नमा रोक लगाएको छ । डीपीएसएले युक्रेनको सुरक्षाको प्रत्याभूति र आवश्यकता परे मानिसहरूलाई सङ्गठित गर्ने उद्देश्यका साथ यो कदम चालिएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्