पर्यटन प्रवर्धन गर्ने अभिप्रायले सुन्दरहरैँचामा सामूहिक वनभोज कार्यक्रम


सुन्दरहरैँचा, १४ फागुन । स्थानीय पर्यटनलाई प्रवर्धन गर्ने अभिप्रायले सुन्दरहरैँचामा सामूहिक वनभोज कार्यक्रमको आयोजना गरिएको छ । उक्त वनभोज कार्यक्रमको आयोजना सुन्दरहरैँचा १२ मा रहेको शुक्रबारे युवा क्लबले गरेको हो ।

सुन्दरहरैँचा नगरपालिका वडा नं ११ मा रहेको किस्ती खोलाको पश्चिमतर्फ मकरधन सामुदायिक भन नजिकै रहेको खाली जग्गालाई पर्यटकीय स्थल निर्माणका लागि आयोजित कार्यक्रममा प्रदेश सांसद, नगर प्रमुख, उपप्रमुख सो क्षेत्र र त्यसको नजिकै रहेका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरू, राजनैतिक पार्टीका प्रमुख तथा प्रतिनिधिहरू, सामाजिक सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू तथा स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमलाई संवोधन गर्दै प्रदेश सांसद राजकुमार ओझाले श्रोत र साधनको परिचालन गर्न उपयुक्त पात्रको आवश्यकता रहेको बताउँदै सही पात्र भएकै कारणले शुक्रबारे क्षेत्र छोटो समयमै परिवर्तित भएको बताए । उनले यस क्षेत्रको विकासमा आफू लागिरहेको बताउँदै यो खाली रहेको क्षेत्रलाई वाकिङ स्टीटको रूपमा प्रयोग गर्न सकिने र त्यसको लागि आफ्नो साथ र सहयोग सधैँ रहने प्रतिविद्धतासमेत जाएर गरे ।

सुन्दरहरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल नगरपालिकाभित्र रहेका सार्वजनिक जग्गाको संरक्षणमा नगरपालिका लागेको बताउँदै यस्ता क्षेत्रलाई सामाजिक प्रयोजनमा लगाउन सकिने बताए । नगरप्रमुख ढकालले यस क्षेत्रको डिपिआर नगरपालिकाले आफै बनाइदिने बताए । आम सरोकारका विषयमा सबैले समर्पित हुनु पर्ने बताउँदै समाज रूपान्तरणको कार्यमा महत्त्वपूर्ण योगदान दिएकोमा शुक्रबारे युवा क्लबलाई धन्यवादसमेत दिए ।

उक्त कार्यक्रममा सुन्दरहरैँचा नगरपालिका उपप्रमुख धना तामाङ, सुन्दरहरैँचा नगरपालिका वडा नं १२ अध्यक्ष रोशन प्रसाद ढकाल, नेपाली काँग्रेस जिल्ला सचिव ललित श्रेष्ठ, नेकपा एमाले नगर अध्यक्ष मातृकाप्रसाद ढकाल, उद्योग वाणिज्य सङ्घ सुन्दररहैँचाका पूर्व अध्यक्ष एवम् माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य नवराज चापागाईँ, नेपाली काँग्रेस मोरङ क्षेत्र नं ६ ‘ख’का क्षेत्रीय सभापति देवराज तामाङ, सुन्दरहरैँचा नगरपालिका वडा नं ११ का सदस्य महेन्द्र लिम्बू, महेन्द्र माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवनाथ ढकाल, स्थानीय मोहनलाल श्रेष्ठ लगायतकाले शुभकामना मन्तव्य राख्दै सो क्षेत्रको विकासका लागि आफूहरू कटिबद्ध रहेको बताए ।

साथै उक्त कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका सदस्य विश्वेश्वर प्रसाद ढकाल, सुन्दरहरैँचा नगरपालिका वडा नं १०, ११ र अध्यक्षहरू क्रमशः  राजेश थापा र विषनलाल चौधरी र माओवादी केन्द्रका नगर अध्यक्ष दुष्यन्त भट्टराई, रेडियो शुसेलीका अध्यक्ष रमेश खड्का लगायतको उपस्थिति रहेको थियो ।

२०५२ सालमा स्थापना भएर २०७७ सालमा आधिकारिक रूपमा दर्ता भएको यस क्लबले स्थापना काल देखि नै विभिन्न सामाजिक, सांस्कृतिक तथा खेलकुदसँग जोडिएर कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

झण्डै एक विगाहाजति क्षेत्रफलमा फैलिएको उक्त खाली जग्गामा बाल तथा वृद्ध मैत्री पार्कको निर्माण गर्दै यस क्षेत्रलाई एउटा पर्यटकीय गन्तव्य बनाउने कार्यक्रम रहेको शुक्रबारेको ऐतिहासिक परिचयसहितको प्रतिवेदन प्रस्तुत गर्ने क्रममा आयोजक संस्थाका सचिव तोयानाथ पोखरेलले जानकारी गराए ।

शुक्रबारे युवा क्लबका अध्यक्ष जयनारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विशाल लिम्बूको स्वागत मन्तव्य र सञ्चालन भने क्लबका सल्लाहकार हिमाल अधिकारीको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्