व्यवस्थित सहरीकरणको थालनीमा सुन्दरहरैँचा वडा नं १२ : बाटो नम्बरिङ कार्यको सुरुवात


सुन्दरहरैँचा, १४ फागुन । व्यवस्थित सहरीकरणको थालनीस्वरुप मोरङको सुन्दरहरैँचामा सडकहरूलाई नम्बरिङ गर्ने कार्यको सुरुवात भएको छ । आज (शनिवार) एक कार्यक्रमकाबिच सुन्दरहरैँचाको १२ नं वडाले वडाभित्र रहेका सहायक सडकहरूलाई नम्बरिङ गर्ने कार्यको सुरुवात गरेको हो ।

वडा अध्यक्ष रोषनप्रसाद ढकालले व्यवस्थित सहरीकरण गर्ने उद्देश्यले वडाभरि रहेका सम्पूर्ण सहायक मार्गलाई नम्बरिङ गर्न थालिएको बताए । वडा अध्यक्ष ढकालले आफूहरू वडाको विकासमा रातदिन नभनी लागिरहेको बताउँदै यस क्रममा पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा धेरै काम भएको बताए । आफूहरू सिक्ने क्रममा रहेकोले यस क्रममा कुनै कमी कमजोरी भएको भए बताइदिनसमेत वडा अध्यक्ष ढकालले आग्रह गरे । उनले भने ‘यस क्रममा पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा कृषिको क्षेत्रमा यो अवधिमा उल्लेख्य काम भएको छ । हामी सिक्ने क्रममा छौँ, यदि कुनै कमी कमजोरी भएको भए भनिदिनु होला, हामी करेक्सन गरेर अगि बढ्छौँ ।’

उक्त कार्यक्रममा रेडियो सुशेलीका अध्यक्ष रमेश खड्का, सुकुना माविका प्रधानाध्यापक लक्ष्मी कुमार श्रेष्ठ लगायतकाले वडाले थालनी गरेको काम राम्रो भएको बताउँदै यसले निरन्तरता पाउनु पर्ने बताए । उनीहरूले यसरी सडकलाई साँकेतिकरण गर्नुले नयाँपन मात्र नदिएर मानव विकासको सूचाङकमासमेत वृद्धि गरिदिएको बताए । साथै यसले यात्रु तथा सर्वसाधारण लाईसमेत सहज हुने उनीहरूको भनाइ रहेको थियो । उक्त कार्यक्रममा प्रदेश सांसद राजकुमार ओझा, सुन्दरहरैँचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङ, सुकुना बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष केशव अधिकारी, इन्द्रपुर नमुना इङ्लिस स्कुलमा प्रिन्सिपल अर्जुन ढकाल लगायत राजनैतिक पार्टी, विभिन्न सामाजिक सङ्घ संस्थाहरूका प्रतिनिधि तथा सर्वसाधारणकोसमेत सहभागिता रहेको थियो ।

यस कार्यक्रमका लागि वडाको बजेट २ लाख ८० हजार र स्थानीय जनसहभागिता ३२ हजार ५ सय ८४ गरी कुल ३ लाख १ हजार ८४ बजेटमा यो काम भइरहेको १२ नं वडा नम्बरिङ उपभोक्ता समितिका सदस्य भुवन ढकाल बताउँछन् । उनले पहिलो चरणमा ५८ वटा सहायक मार्गमा नम्बर बोर्ड राखिने कार्यक्रम रहेको बताए । बाटो नम्बरिङ उपभोक्ता समितिका अध्यक्ष अर्जुन कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव जीवन भट्टराईको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्