एमसीसीको विरोधमा आठ बाम घटकको काठमाडौँमा प्रदर्शन


काठमाडौँ, १५ फागुन । सरकारले संसदबाट एमसीसी सम्झौता पारित गर्ने तयारी अघि बढाएपछि आठ बाम घटकले आज एमसीसीको विरोधमा काठमाडौँमा प्रदर्शन गर्ने भएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितका विभिन्न साना आठ राजनैतिक दलले अमेरिकी सहायता सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संझौताको विरुद्धमा प्रदर्शन गर्न लागेका हुन् ।

प्रदर्शनमा मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), ऋषि कट्टेल नेतृत्वको नेकपा, मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, कणर्जित बुढाथोकीको नेकपा (माओवादी केन्द्र) लगायतका छन् ।

यसरी संसदबाट यो संझौता जसरी पनि पास गराउन भइरहेको कसरतको विरोधमा यी दलहरूले चरणबद्ध रूपमा सङ्घर्षका कार्यक्रम अघि बढाएका छन् । एमसीसी सम्झौताको विरोधमा उनीहरूले यही फागुन ४ गते नेपाल बन्द आह्वान गरेका थिए ।
संसदमा टेबल भएको यो सम्झौतालाई काँग्रेस जसरी पनि पास गराउन लागिरहेको छ । सत्ता समीकरण फेरेरै भए पनि यो संझौता पास गर्नु पर्ने मनस्थितिमा काँग्रेस देखिएको छ ।

उता सत्ता साझेदार दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने अहिलेकै अवस्थामा यो संझौता पास गर्न नहुने अडानमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्