मोरङको जाँतेकी ११ वर्षीय बालिका हत्या आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ


मोरङ, १५ फागुन । मोरङको लेटाङ नगरपालिका – ८ ज्यामिरे टोलकी ११ वर्षिया करुणा राईको हत्या आरोपमा प्रहरीले एक जना ६३ वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ नगरपालिका – ८ का दीपक गिरी रहेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले बालिकालाई बलात्कार पछि हत्या गरेको अभियोगमा शुक्रवार ती व्यक्तिलाई पक्राउ गरेको जानकारी दिए । बुधवार पाँच बजे स्कुलबाट घर फर्किँदै गरेकी करुणालाई बलात्कार गरेपछि हत्या गरेको स्वीकार गरेको एसपी जिसीले बताए ।

उनले भने ‘बलात्कार गरेपछि बालिकाको मुख थुनेर हत्या गरेपछि ढुङ्गाले थिचेर हिँडेको बयानको क्रममा स्वीकार गरेका छन् । अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट गिरीको मात्र संलग्न देखिएको छ । थप अनुसन्धान भइरहेको छ ।’

स्कुलबाट घर फर्किने क्रममा बुधवारदेखि हराएकी करुणाको शुक्रवार बिहान लेटाङ ८ जाँते लालझोडामा रहेको लालहीरा सामुदायिक वनभित्र फेला परेको थियो । केराको झ्याङभित्र नाङ्गो अवस्थामा उनको शव फेला परेको थियो ।

पक्राउ परेका व्यक्ति एक महिना अगाडि श्रीमतीको मृत्यु पछि एक्ले बस्दै आएको बताइएको छ । पक्राउ परेका गिरीको घर बालिकाको हत्या भएको एक किलोमिटर उत्तरमा पर्दछ ।

स्थानीयले भने यस घटनालाई आपराधिक मानसिकताको पराकाष्ठाको संज्ञा दिँदै दोशीले कुनै पनि नाममा उन्मुक्ति पाउनु नहुने बताएका छन् । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्