एमसीसीबारे निर्णय लिन माओवादी केन्द्र र नेकपा ‘एस’लाई सकस


काठमाडौँ, १५ फागुन । अमेरिकी सहयोग सम्झौता ‘एमसीसी’ का बारेमा निर्णय गर्न माओवादी केन्द्र र नेकपा ‘एस’लाई निकै सकस परिरहेको छ । एमसीसी बारे संस्थागत निर्णय दिन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको आज (आइतबार) बैठक बस्दै छ ।

माओवादी केन्द्रको बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा अहिले बोलाइएको छ भने एकीकृत समाजवादीले भने ११ बजेलाई बैठक डाकेको छ ।
एमसीसीको विषयलाई लिएर सत्ता साझेदार दलहरू दुई ध्रुवमा विभाजित भएका छन् । काँग्रेस जसरी पनि संझौता पास गर्नु पर्ने अडानमा रहेको छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी भने संझौतामा रहेका केही विवादित बुँदालाई परिमार्जन गरेर मात्र पास गर्नु पर्ने अडानमा रहेको छ ।

यही अडानले गर्दा सरकार समीकरणमा परिवर्तन आउने आशङ्का गरिरहेको बेलामा यी दुई पार्टीको आधिकारिक निर्णयले सत्ता गठबन्धनको आयु निर्धारण गर्ने जानकारहरू बताउँछन् ।

यद्यपि माओवादी केन्द्रले यस अघि नै अहिलेकै परिस्थितिमा एमसीसी पास गर्न नसकिने बताइसकेको छ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । आजको बैठकमा एमसीसीबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्