बेलबरीमा बढ्दो आपराधिक गतिविधि


समीक्षा दुलाल/पुष्पा बास्तोला/जुनु कट्टेल/राम कुमार थापा/समूह ‘ख’ –

मोरङ ,१५ फाल्गुन । बेलबारीमा वार्षिक रूपमा आपराधिक गतिविधि बढ्दै गएको छ । तिन आर्थिक वर्षमा बेलबारी इलाका प्रहरी कार्यालयमा १ हजार ७९ मुद्दा दर्ता भएको छ । बेलबारी नगरपालिका क्षेत्रसँगै सुन्दरहरैचा नगरपालिका, केराबारी, ग्रामथान र बुढीगंगा गाउँपालिकाको वडा नं.६, ७ मा पनि अपराधीक गतिविधि बढ्दै गएको इलाका प्रहरी कार्यालय बेलवारीको तथ्यांकले देखाउँछ ।

इलाका प्रहरी कार्यालय बेलवारीको सुरक्षा तथा निगरानीको क्षेत्र अधिकार सोही नगरपालिका तथा गाउँपालिकाको क्षेत्र पर्दछ । इलाका प्रहरी कार्यालय बेलवारीका अनुसार २०७५/७६ मा मात्रै जम्मा ३४६ मुद्दा दर्ता भएको तथ्याङ्कले देखाएको छ । ४३२ अभियुक्तमध्ये ४६ जना महिला र ३८६ पुरुष थिए । जातिका आधारमा विभाजन गर्ने हो भने बेलबारी नगरपालिका भित्र मधेसी ३९, दलित ४९, आदिवासी जनजाति १९३, ब्राह्मण–क्षेत्री १२९ र अन्य १३ जना रहेको तथ्याङ्क छ ।

आर्थिक वर्ष २०७६/७७ मा मुद्दा दर्ताको संख्या ३५९ र अभियुक्त संख्या ४०१ रहेको थियो । त्यस मध्ये पुरुषको संख्या ३६६ र महिला ३५ जना रहेको तथ्यांकमा उल्लेख छ । उक्त जनसंख्या मध्ये ब्राह्मण–क्षेत्री ९५, मधेसी २६, दलित ५५, आदिवासी जनजाति २०७ र अन्य १८ जना रहेको तथ्याङ्क छ । वर्षको आधारमा विभाजन गर्दा १८ वर्ष मुनिका ७ जना, १९ देखि ३० सम्मका २५५, ३१ देखी ४० सम्मका ७८ जना, ४१ देखि ५० सम्मका ४१ जना, ५१ देखी ६० सम्मका १३ जना र ६१ देखी माथिका ७ जना रहेका छन् ।

चालू आर्थिक वर्षको तथ्याङ्क अनुसार ३७४ आपराधिक मुद्दा दर्ता भएको छ भने अभियुक्तको संख्या ४२२ रहेको छ । जातिको आधारमा तथ्याङ्कलाई हेर्दा १०७ ब्राह्मण–क्षेत्री, ४१ मधेसी, ६२ दलित, आदिवासी जनजाति १८५ र अन्य २७ रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीमा आपराधिक मुद्दाको तथ्याङ्कलाई हेर्दा वार्षिक रूपमा अपराध बढ्दो छ । जस कारण सुरक्षा चुनौती बढेर गएको छ । अभद्र, सवारी, ज्यान, लागु औषध, कारणी, आत्महत्या लगायत सम्बन्धीका फौजदारी मुद्दा र देवानी सम्बन्धी पर्ने सम्बन्ध विच्छेद, झैझगडा, कुटपिट, लेनदेन, करार, जग्गा सम्बन्धी लगायतका मुद्दाहरू बढी मात्रामा दर्ता भइरहेको पाइन्छ ।

प्रहरीसँगै नागरिक सचेत र चनाखो भए, समाजमा हुन सक्ने अपराधीक गतिविधि रोक्न तथा न्यूनीकरण गर्न सकिने छ । सम्भावित हुन सक्ने घटनाको आशङ्का भए प्रहरीलाई तुरुन्त सूचना प्रवाह गर्ने तथा जनचेतना कार्यक्रम बाक्लो रूपमा गर्ने हो भने अपराधीक गतिविधिलाई न्यूनीकरण गर्न सकिन्छ । अपराधीक गतिविधि बढ्न सक्ने कारक तत्त्वको पहिचान गरी सरकारले समाधान गर्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्