लेटाङ बालिका हत्या प्रकरण : हत्याका पीडकका घरमा आक्रोशित स्थानीयद्वारा आगजनी


मोरङ, १७ फागुन । मोरङको लेटाङ–८ ज्यामिरेकी ११ वर्षिया बालिका बलात्कारपछि हत्यामा संलग्न पीडकको घरमा सोमबार दिउँसो स्थानीयले आगजनी गरिदिएका छन् । आक्रोशित बनेको समूहले घटनामा संलग्न लेटाङ–८ का ६४ वर्षीय दीपक गिरीको घरमा आगजनी गरिदिएको प्रहरीले जनाएको छ ।

प्रहरीले स्थानीयले गरेको आगजनीबाट फुसको छानो भएको र बाँसको टाटीबेरा लगाएर बनाइएको घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।
गिरीका छोराले अन्नपात लगायत अरू धनमाल यसअघि नै निकालेर लगिसकेका कारण घर खाली रहेकाले आगजनीमा ठूलो क्षति भने हुन नपाएको स्थानीयसमेत रहेका वडाध्यक्ष भीमप्रसाद पोखरेलले जनाएका छन् ।

जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत बालिका राईलाई नियन्त्रणमा लिएर बलात्कार पछि गिरीले गत बुधवार हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर उनीविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ ।

विद्यालयबाट एक्लै घर फर्किँदै गर्दा गिरीले बालिकालाई फकाएर अर्को बाटो लग्दै जङ्गलको बिचमा पुर्‍याएपछि बलात्कार गरेर हत्या गरिदिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए ।

लालहीरा सामुदायिक वनको खोचमा फ्यालेर माथिबाट डुङ्गाले छोपेको अवस्थामा उनको शव गत शुक्रवार फेला परेको थियो ।
हत्या आरोपी गिरीकी पत्नीको एक महिनाअघि मृत्यु भएको थियो । उनका एक छोरा र एक छोरी छन् । छोरी बिहे गरेर गइसकेको र छोराले गाउँमै रोजगारी गरेर जीविकोपार्जन गर्ने गरेका वडाध्यक्ष पोखरेल बताउँछन् । उनका अनुसार घरमा लगाइएको आगो शिवशक्ति सामुदायिक वनमा फैलने खतरा बढेपछि दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

घटनाका दोषीलाई कडा कारबाही हुनुपर्ने, पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेर करुणा अध्ययनरत विद्यालयका विद्यार्थी र शिक्षकले लेटाङमा केही दिनदेखि प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्