एमसीसी अनुमोदन निहित स्वार्थसहितको चाल र प्रचारबाजीको पटाक्षेप : एमाले


काठमाडौँ, १७ फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनलाई निहित स्वार्थसहित चालिएका चाल र चलाइएको प्रचारबाजीको पटाक्षेप भएको बताएको छ । एमालेले मङ्गलवार पत्रकार सम्मेलनमार्फत यस्तो धारणा व्यक्त गरेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘यस क्रममा फिँजाइएका भ्रम तथा विभिन्न रङ्ग र आकारका पुलिन्दा निर्माण गरी बिक्री गर्न खोजिएका घिनलाग्दा स्वार्थहरूले द्विपक्षीय वा बहुपक्षीय प्रत्यक्ष लगानी, ऋण वा अनुदान सहायता प्राप्त हुने प्रक्रिया, प्रस्तावको तयारी र त्यसमा प्रयोग हुने भाषा तथा कार्यान्वयन प्रतिबद्धताजस्ता कैयौँ विषयमा सत्ता–गठबन्धनका केही नेताहरूमा रहेको अज्ञानता वा गैरजिम्मेवारपन प्रकट भएको छ ।’

त्यस्तै विज्ञप्तिमा राष्ट्रिय हितको वास्ता नगरी आफ्नै क्षुद्र र निजी स्वार्थ पूरा गर्न खोजिएको आरोपसमेत लगाइएको छ ।

एमालेले प्रमुख प्रतिपक्षलाई यस प्रक्रियाबाट बाहिर राख्ने सत्ताधारी गठबन्धनको षड्यन्त्रपूर्ण व्यवहार भन्दै तिव्र बिरोध गरेको छ । एमसीसीको ‘व्याख्यात्मक घोषणा’ को पनि एमालेले तिव्र आलोचना गरेको छ ।

एमालेले राष्ट्रको हित प्रतिकूल नहुने गरी एमसीसी सम्झौता कार्यान्वयन हुनुपर्ने बताउँदै एक थोक बोल्ने तर अर्कै काम गर्ने प्रवृत्तिले गर्दा सत्ता गठबन्धनमा आबद्ध पार्टीका नेताहरूको बोली र व्यवहारलाई छेपारेपनको संज्ञा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्