बेलबारीमा प्रथम तीर्थ स्मृति फुटबल कप २०७८ सञ्चालन हुने


बेलबारी, १८ फागुन । स्थानीय खेललाई प्रवर्धन गर्दै आफ्नो स्थानीय ठाउँलाई देश विदेशसम्म चिनाउने उद्देश्यले बेलबारी नगरपालिका वडा नं ६ मा ‘प्रथम तीर्थ स्मृति फुटबल कप २०७८’ सञ्चालन हुने भएको छ । बेलबारी –३ मा रहेको ड्रिमल्याण्ड फन पार्कमा आज (बुधवार) पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले उक्त कुराको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोरा बाँध यूथ क्लबका अध्यक्ष प्रज्वल राई बेलबारी ६, बोरा बाँधका खेल प्रेमी स्वर्गीय तीर्थ राईको सम्झनामा प्रतियोगिता सञ्चालन गरिन लागेको बताउँछन् । उनले यो प्रतियोगिताले बेलबारी बजारबाट केही टाढा रहेको यस क्षेत्रलाई देश विदेशमा चिनाउने मद्दत गर्ने आसा लिएको पनि बताएका छन् ।

उनी भन्छन् ‘बेलबारी नगरपालिका भित्रै रहेर पनि देहातका रूपमा रहेको यो क्षेत्रलाई खेलका माध्यमबाट हामी देश विदेशसम्म चिनाउन चाहन्छौँ ।’

क्लबका सल्लाहकार मिलन राई यो प्रतियोगिताले स्थानीय प्रतिभालाई प्रवर्धन गर्दै बोराबन क्षेत्रलाई अरूसामु ल्याउन प्रतियोगिता सहयोगी हुने आसा व्यक्त गर्छन् ।
२१ गते उद्घाटन हुने प्रतियोगिताको तयारी तीव्र अवस्थामा रहेको, यतिखेर प्रतियोगिताका लागि आर्थिक श्रोत जुटाउने काममा जुटिरहेको खेल संयोजक विशाल राई बताउँछन् ।
प्रतियोगिताका लागि आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले प्रतियोगिता अवधिभर आएर खेल हेरिदिन आग्रहसमेत गरेका छन् ।

बेलबारीका विभिन्न आठ वटा टिमले सहभागिता जनाउने प्रतियोगिताका विजेता टिमले ३० हजार नगदका साथमा ट्रफि, मेडल तथा प्रमाण तथा उपविजेताले २० हजार नगदसहित ट्रफि, मेडल तथा प्रमाण पत्र पाउने छन् ।
स्वर्गीय तीर्थ राई बेलबारी ६ का उत्कृष्ट खेलाडी रहेको र उनको गतवर्षमात्र दुर्घटनामा परेर मृत्यु भएको थियो ।
पत्रकार सम्मेलनमा क्लबका सचिव तथा आर्थिक विभाग प्रमुख बिराज राई, सञ्चालक समिति सदस्य राजकुमार राई लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्