बेलबारीमा नगरस्तरीय राष्ट्रपति शिल्ड–२०७८ सुरु


बेलबारी, १८ फागुन । खेलकुदका माध्यमबाट बालबालिकामा अनुशासित बानीको निर्माण गर्दै उनीहरूको व्यक्तित्वको विकास गर्ने अभिप्रायले बेलबारीमा आज (बुधवार) बाट नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको छ । एक भव्य कार्यक्रमकाबिच आज नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले उक्त प्रतियोगिताको उद्घाटन गरेका छन् ।

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्दै प्रमुख अतिथि नगरप्रमुख सुवेदीले खेलकुदको माध्यमबाट नगरलाई चिनाउने काम भइरहेको बताउँदै यस्ता प्रतियोगिताले बालबालिकालाई अनुशासित मात्र नबनाएर उनीहरूमा लुकेर रहेको प्रतिभाको प्रस्फुटनसमेत हुने बताए । साथै नगरप्रमुख सुवेदीले तीन दिनसम्म चल्ने यो महाकुम्भ मेलामा सहभागी हुने सबै विद्यालय, खेलाडी तथा प्रशिक्षकहरूलाई धन्यवाद दिँदै कार्यक्रमको सफलताको कामनासमेत गरे ।
उद्घाटन समारोहमा स्काउटको टिमले नगरप्रमुख सुवेदीलाई सलामी प्रदान गरेको थियो ।

बेलबारी नगरपालिका वडा नं ९ बाहुनीमा रहेको जनता नमुना विद्यालयको खेल मैदानमा बुधवारबाट सुरु भएर फागुन २० गतेसम्म चल्ने प्रतियोगितामा नगरभरिका मावि तहको पठनपाठन हुने विद्यालयको सहभागिता रहेको आयोजक समितिले जनाएको छ ।

आयोजक विद्यालयका प्रधानाध्यापक टेकनारायण शाह तीन दिन सम्म चल्ने प्रतियोगितामा छात्र तथा छात्रा रिले रेस, दौड, कवर्डी, ज्याब्लिङ थ्रो, हाई जम्प, सट फुट लगायतका प्रतियोगिता रहने बताउँछन् । उनले कार्यक्रममा सहभागी हुने सबैलाई स्वागत गर्दै प्रतियोगिताको अवधिभर बसेर खेलको रमाइलो लिनसमेत आग्रह गरेका थिए ।

उद्घाटन समारोहमा बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदी, शिक्षा शाखा प्रमुख भूपेन्द्र कोइराला, शिक्षा अधिकृत इलिना बस्नेत, बेलबारी नगरपालिका वडा नं ९ का अध्यक्ष नगेन्द्र खड्का, वडा नं ६, ७ र ११ का अध्यक्षहरू क्रमशः उदयबहादुर राई, चेतबहादुर बस्नेत, यामबहादुर पोखरेलको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा जिल्ला प्याब्सन मोरङका सचिव जगत बहादुर बस्नेत, नगर प्याब्सन अध्यक्ष भगवतीप्रसाद घिमिरे, सशस्त्र बल बाहुनीका बाहिनी पती ज्ञानबहादुर श्रेष्ठ, नगर शिक्षा समिति सदस्य दुर्गाप्रसाद गौतम, बेलबारी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख खगेन्द्र लुइँटेल, नेपाल शिक्षक महासङ्घका अध्यक्ष गोविन्द भण्डारी, नेपाल खेलकुद महासङ्घ केन्द्रीय सदस्य तथा खेलकुद बोर्डका मोरङका उपाध्यक्ष शीतल राय लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरू, सामाजिक सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

आयोजक विद्यालय श्री जनता मावि बाहुनीका प्रधानाध्यापक टेकनारायण शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मित्रप्रसाद घिमिरेको शुभकामना मन्तव्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्